‘चुनावको बेला जे भयो, सकियो । अब हामी एकढिक्का भएर काम गर्नेछौं’ : पदभार ग्रहणपछि डाँगी
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले अधिवेशनका क्रममा देखिएको प्रतिस्पर्धा र विभाजन अब समाप्त भएको भन्दै समग्र ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीबाट बुधबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष डाँगीले चुनावका क्रममा साथीहरू फरक–फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भइसकेपछि अब ऊर्जा क्षेत्रका सबै पक्ष एकै ठाउँमा उभिएको बताए।
‘चुनावको बेला जे भयो, सकियो । अब हामी एकढिक्का भएर काम गर्नेछौं । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरूलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गर्दै अघि बढ्नेछौं,’ डाँगीले भने।
उनले ऊर्जा क्षेत्रका साझा मुद्दामा निजी क्षेत्रलाई थप संगठित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। विगतमा कार्यसमितिका विभिन्न जिम्मेवारी सम्हालेर अनुभव बटुलेको उल्लेख गर्दै उनले सबै सदस्यहरूको क्षमता र अनुभवलाई संस्थाको हितमा परिचालन गरिने बताए।

यसअघि इप्पानका तीनवटा कार्यसमितिमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा संस्थाको नेतृत्व सम्हाल्न पुगेका हुन्।
पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानका पदाधिकारी र कार्यसमिति सदस्यहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा बोलिएको प्रत्येक शब्दले व्यापक प्रभाव पार्ने भएकाले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।
‘कार्यसमितिको सदस्यले बोल्दा पनि त्यसको जिम्मेवारी अन्ततः अध्यक्षले लिनुपर्छ । त्यसैले सार्वजनिक रूपमा बोल्नुअघि पर्याप्त छलफल र परामर्श आवश्यक हुन्छ । कुनै विषयको पूर्ण जानकारी छैन भने त्यसबारे पछि कुरा गरौंला भन्न सक्नुपर्छ,’ कार्कीले भने, ‘बोलीमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको सिंगो ऊर्जा क्षेत्रले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।’
कार्कीले आफ्नो कार्यकालमा ऊर्जा क्षेत्रका विभिन्न मुद्दा राष्ट्रिय राजनीतिक बहसको विषय बनाउन सफल भएको दाबी गरे। उनले आफू नेतृत्वमा रहँदा उठाइएका अधिकांश मुद्दा प्रमुख राजनीतिक दलका घोषणापत्रमा समेत समावेश भएको उल्लेख गर्दै अबको नेतृत्वले ती विषयलाई कार्यान्वयन तहसम्म पुर्याउन निरन्तर दबाब र पैरवी गर्नुपर्ने बताए।
‘हामीले उठाएका धेरै मुद्दा आज राजनीतिक दलका घोषणापत्रमा समेटिएका छन् । यो ऊर्जा क्षेत्रको ठूलो उपलब्धि हो । अब ती विषय कार्यान्वयनमा जानुपर्छ र त्यसका लागि नयाँ नेतृत्वले निरन्तर झकझक्याइरहनुपर्छ,’ उनले भने।
कार्यक्रममा इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका साझा मुद्दामा सबैजना एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले निवर्तमान नेतृत्वले निर्माण गरेको संस्थागत विरासतलाई निरन्तरता दिन नयाँ कार्यसमिति प्रतिबद्ध रहेको बताए।
‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ । नयाँ कार्यसमितिले त्यो लिगेसीलाई पूर्ण रूपमा बोक्न सक्ला कि नसक्ला भन्ने चुनौती अवश्य छ । तर सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधैं सँगै रहनेछौं,’ भ्लोनले भने।

करिब ७०० ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते सम्पन्न २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट चयन भएको थियो। असार १ गते सपथ ग्रहण गरेको नयाँ कार्यसमितिले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘चुनावको बेला जे भयो, सकियो । अब हामी एकढिक्का भएर काम गर्नेछौं’ : पदभार ग्रहणपछि डाँगी
-
जेन-जी आन्दोलनका शहीद परिवारका १६ सदस्यले पाए नेपाल विद्युत् प्राधिकरणमा जागिर
-
झिनो अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट
-
कालीगण्डकी बाँधको छायाँमा माझी-बोटे समुदाय
-
समृद्ध नेपाल निर्माणमा जलविद्युत् मुख्य आधार : अध्यक्ष ढकाल
-
सुन प्रतितोला १२ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो