सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्यो, तल्लो तटीय क्षेत्रलाई सतर्क रहन आग्रह

प्रतिघण्टा २२-२३ सेन्टिमिटरका दरले पानी बढ्दै, गेट खोलेर पानी छोड्नेबारे प्राविधिक छलफल

जलसरोकार
आइतबार, असोज ११, २०८३ | ०७:०५:४८ बजे

काठमाडौं : रातभरको वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सीनाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार जलाशयको सतह पछिल्लो केही घण्टायता तीव्र गतिमा बढिरहेको छ।

उनका अनुसार कुलेखानी जलाशयको सतह शनिबार राति १० बजे १,५२४.०९ मिटर थियो। त्यसपछि राति १२ बजे १,५२४.१३ मिटर, बिहान २ बजे १,५२४.३६ मिटर, ३ बजे १,५२४.६३ मिटर, ३ः३० बजे १,५२४.७८ मिटर पुगेको थियो।

त्यसैगरी बिहान ५ बजे जलाशयको सतह १,५२५.११ मिटर, ५ः०८ बजे १,५२५.१६ मिटर र बिहान ६ बजे १,५२५.३७ मिटर पुगेको तिम्सीनाले जानकारी दिएका छन्।

राति १० बजेदेखि बिहान ६ बजेसम्म जलाशयको सतह १.२८ मिटरले बढेको छ।

प्रतिघण्टा २२-२३ सेन्टिमिटरले बढ्दै

तिम्सीनाका अनुसार अहिले कुलेखानी क्षेत्रमा प्रतिघण्टा २२-२३ सेन्टिमिटरका दरले जलाशयको पानीको सतह बढिरहेको छ। त्यहाँ अहिले ११ मिलिमिटर प्रतिघण्टा वर्षा भइरहेको उनले बताएका छन्।

जलाशयको सतह १,५३० मिटर पुगेपछि कुलेखानी भरिनेछ। बिहान ६ बजे जलाशयको सतह १,५२५.३७ मिटर रहेकाले भरिने सतहसम्म ४.६३ मिटर बाँकी रहेको छ।

यसअघि कुलेखानी जलाशयको पानीको सतह प्रतिघण्टा १-२ सेन्टिमिटरका दरले मात्रै बढिरहेको थियो। तर रातभरको वर्षापछि पानी बढ्ने दर एकाएक तीव्र भएको तिम्सीनाको भनाइ छ।

गेट खोलेर पानी छोड्नेबारे छलफल

तिम्सीनाका अनुसार कुलेखानी प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ। तर वर्षाका कारण जलाशयमा पानी आउने क्रम तीव्र भएपछि यही दर कायम रहेमा नियन्त्रित रूपमा गेट खोलेर पानी छोड्ने विषयमा सम्बन्धित व्यवस्थापन र प्राविधिकहरू छलफलमा जुटिसकेका छन्।

आवश्यकताअनुसार साइरन बजाउने तथा एसएमएसमार्फत सूचना पठाउने तयारीसमेत रहेको उनले बताएका छन्।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क र सुरक्षित हुन तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : आइतबार, असोज ११, २०८३ | ०७:०५:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया