भोजपुर बजारमा पानीको सङ्कट अन्त्य
जलसरोकार
भोजपुर : भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन खानेपानी समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।
समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनमा आएपछि बजार तथा आसपासका वडामा वर्षौंदेखि देखिँदै आएको चरम खानेपानी अभाव अन्त्य भएको छ । पहिले पानीका लागि टाढाबाट धाउनुपर्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको उनले बताए ।
आयोजनाअन्तर्गत भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी घरघरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिए । शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले दुई वटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।
“स्थानीय नागरिकलाई सहजरूपमा खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आयोजना अघि बढाएका थियौँ,” अध्यक्ष किरातले भने, “आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या पूर्णरूपमा हटेको छ ।”
पानी वितरणका लागि १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्की निर्माण गरिएको छ । यस आयोजनाबाट भोजपुर नगरपालिका–५, ६, ७, ८, ९ र १२ का नागरिक लाभान्वित भएका छन् ।
विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब ५० करोड रुपैयाँको लागतमा विसं २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन् । आयोजना सञ्चालनपछि स्वास्थ्य, सरसफाइ र दैनिकीमा सकारात्मक परिवर्तन आएको स्थानीयवासीले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका सय दिन : बिजुली होइन, अन्योल उत्पादन
-
साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, सबै उपसमूह राताम्य
-
लगातार दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
-
गत साता सामान्य सुधार गरेको नेप्से, यस साता कुन दिशामा जाला?
-
मनसुन सक्रिय, आज पनि देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना