सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर तामाकोशी हाइड्रोपावर २८ करोड ६७ लाख रुपैयाँ नाफामा, विद्युत् बिक्री आम्दानी ७ अर्ब ७१ करोड रुपैयाँ

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | १०:१०:११ बजे

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नाफामा गएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको उक्त अवधिमा कम्पनी २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ९९ करोड ६५ लाख रुपैयाँ रहेकोमा तेस्रो त्रैमासमा भने नाफा घटेको देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको छ । चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो ।

कम्पनीको प्रशासनिक तथा आयोजना खर्च ४६ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने रोयल्टी खर्च १८ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै मूल्यह्रास खर्च २ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ । यी खर्चपछि कम्पनीले सञ्चालन नाफा ४ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।

तर उच्च वित्तीय लागतका कारण कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत ४ अर्ब ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । यद्यपि वित्तीय आम्दानी तथा अन्य आम्दानीको सहयोगमा कम्पनी अन्ततः नाफामा रहन सफल भएको हो ।

चैत मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ८१ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम छ । यद्यपि सञ्चित नोक्सानी अझै १२ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीसँग २ अर्ब १७ करोड रुपैयाँ नगद तथा नगद सरह मौज्दात रहेको छ । दीर्घकालीन ऋण ६७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने चालु दायित्वअन्तर्गत दीर्घकालीन ऋणको चालु हिस्सा २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणमार्फत नेपाल सरकार तथा संस्थापक शेयरधनीहरू नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋणको पुनर्तालिकीकरण प्रक्रिया अगाडि बढिरहेको जनाएको छ ।

व्यवस्थापनका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हाल पूर्ण क्षमतामा सञ्चालनमा रहेको छ । यद्यपि निर्माण अवधि लम्बिनु, लागत वृद्धि, उच्च ब्याज खर्च तथा वित्तीय व्यवस्थापन अझै कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

 

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | १०:१०:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया