जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो काबेलीले गर्‍यो वित्तीय व्यवस्थापन, साढे २ वर्षमा बिजुली बाल्ने लक्ष्य

जलसरोकार
बिहीबार, वैशाख २७, २०८१ | ०८:१८:५० बजे

 

 काठमाडौं– पिस इनर्जीले ताप्लेजुङमा निर्माण गर्न लागेको २८.१ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । माछापुच्छ्रे बैंकको अगुवाइमा लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) र निर्माण कम्पनी पिस इनर्जीबीच बुधबार ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा बन्ने आयोजना समेत हो । पिस इनर्जीमा अमेरिकी कम्पनी टेस्ला हाइड्रोको ७८ प्रतिशत लगानी रहेको छ । 
संयुक्त राज्य अमेरिकामा रहेका एनआरएन व्यवसायी र उद्यमीहरूको टोलीले नेपालमा जलविद्युत आयोजनाहरूमा लगानी, विकास र व्यवस्थापन गर्ने उद्देश्यका साथ टेस्ला हाइड्रो युएसए, स्थापना गरेकाे हस्ताक्षर कार्यक्रममा जानकारी दिइयाे । टेस्ला हाइड्रो युएसए र पीस इनर्जी कम्पनी नेपाल दुवैका कार्यकारी अध्यक्षको रूपमा काम गर्ने डा. मदन उप्रेतीको नेतृत्वमा आयोजनाको रणनीतिक योजना र कार्यान्वयनमा नेतृत्व गर्नेछन् । उप्रेती अमेरिकामा चिकित्सा पेसामा संलग्न छन् । 

आयोजनाका लागि बैंकहरुको तर्फबाट कुल लागत ५ अर्ब ६४करोड ६९ लाखको ७५ प्रतिशतले हुने रकम ४ अर्ब २३ करोड ५० लाख ऋण लगानी हुनेछ । जसमा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, एचआइडीसीएलले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ७५ करोड र राष्ट्रिय वाणिज्य बैंकले १०० करोड गरी ४ अर्ब २३ करोड ५० लाख ऋण लगानी रहनेछ । यस्तै सेयरधनी प्रवर्धकहरुको तर्फबाट २५ प्रतिशतले हुन आउने रकम १ अर्ब ४१ करोड १९ लाख  रुपैयाँ लगानी हुनेछ। यस आयोजनाले स्थानीय र सर्वसाधारणको लागि आइपीओ जारी गर्ने कम्पनीले जानकारी दिएको छ।

ताप्लेजुङ जिल्लामा २८.१ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत आयोजनाको विकास गर्ने उद्देश्यले टेस्ला हाइड्रो युएसएको, पिस इनर्जी कम्पनी पालिमा ७८.५ लगानी गरिएको सो अवसरमा जानकारी दिइयो। प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मार्फत ७८० मिलियनको यो परियोजना ऊर्जा क्षेत्रमा दिगो समाधान प्राप्त गर्नको लागी एक महत्वपूर्ण कदम हुने कम्पनीको दावी छ ।

‘पायलट प्रोजेक्टको रूपमा, हामी इमानदारी र पारदर्शितामा आधारित कर्पोरेट संस्कृतीलाई बढावा दिई सम्मानित ऊर्जा कम्पनीको रूपमा पिस इनर्जी कम्पनी प्रालि स्थापना गर्न प्रतिबद्ध छौं‘, डा. मदन उप्रेतीले भने, ‘क्षमता निर्माण र प्रतिभा अवधारणमा हाम्रो फोकसले दीर्घकालीन सफलताको लागि हाम्रो समर्पण प्रतिविम्बित गर्दछ।’
कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीले नेपालमा जलविद्युत् विकास गर्न अप्ठ्यारो रहेपनि कम्पनीका प्रत्यक्ष वैदेशिक लगानी ल्याएर जलविद्युत् निर्माण गर्नु सह्रानीय विषय भएको उल्लेख गरे । एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले यस आयोजनालाई उदारणीय बनाएर यसभन्दा ठूला आयोजना निर्माण गर्न कम्पनीलाई सुझाव दिए । माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले आयोजना समयमा बन्ने विश्वास व्यक्त गरे ।

आयोजनाको बारेमा
माथिल्लो काबेली आयोजना ताप्लेजुङ्ग जिल्ला सिरिजङ्गा गाँउपालिकाको वडा नम्बर १, २, ४ र सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६ मा निर्माणाधीन  रहेको छ । पिस इनर्जी प्रा.लि.ले निर्माण गरिरहेको आयोजनाको कुल क्षमता २८.१ मेगावाट रहेको छ । आयोजनाको पानीको वहाव १७.२९ क्यू.मि, आयोजनाको हेड १९२.०१० मिटर रहेको छ । आयोजनाबाट उत्पादित बिजुली अमरपुर सबस्टेसनमा जोडन प्रस्ताव गरेको छ । आयोजनाको व्यवसायिक उत्पादन मिति २०८३ पुसमा रहेको छ ।

प्रकाशित मिति : बिहीबार, वैशाख २७, २०८१ | ०८:१८:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया