सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

जलसरोकार
आइतबार, साउन २४, २०८३ | १७:०३:३७ बजे

 

चितवन : चितवन राष्ट्रिय निकुञ्जको करिब आठ किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेपछि भूमिगत विद्युतीकरणको काम अघि बढाइएको हो।

करिब १७ करोड ८६ लाख रुपैयाँको लागतमा २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको भूमिगत लाइन निर्माण गर्न लागिएको हो। यसको जिम्मेवारी शारदा एण्ड सुम्नीमा भिसान जेभीले पाएको छ।

हाल सञ्चालनमा रहेको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या देखिएपछि नयाँ भूमिगत लाइन निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जितेन्द्रकुमार झाका अनुसार यसअघि जडान गरिएको भूमिगत तारको क्षमता आठ मेगावाट मात्र भएकाले विद्युत् प्रवाहमा समय–समयमा समस्या आउने गरेको थियो।

नयाँ भूमिगत विद्युतीकरण भने पुरानै स्थानबाट नभई नयाँ मार्गबाट गर्न लागिएको झाले जानकारी दिए । विद्युत् आपूर्तिमा समस्या आउँदा त्यसको पहिचान गर्न लामो समय लाग्ने भएकाले दीर्घकालीन समाधानका लागि नयाँ प्रणाली निर्माण गर्न लागिएको उनकाे भनाइ छ।

ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले भूमिगत विद्युतीकरणका लागि आवश्यक नक्साङ्कनको काम सम्पन्न गरिसकेको छ। अहिले २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको तार खरिद प्रक्रिया अघि बढाइएको छ। वर्षायाम सकिएपछि निर्माण कार्यले थप गति लिने कार्यालय प्रमुख झाले बताए । 

माडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति गर्दै आएको छ। वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टका अनुसार केन्द्रअन्तर्गत करिब ११ हजार ७०० ग्राहक रहेका छन्। ती ग्राहकले मुख्यतः घरायसी तथा सिँचाइ प्रयोजनका लागि विद्युत् प्रयोग गर्दै आएका छन्।

चितवनको माडी नगरपालिका चारैतिरबाट जङ्गलले घेरिएको छ। नगरपालिकाको अधिकांश भूभाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ। माडीवासीलाई जिल्ला सदरमुकाम भरतपुर आउजाउ गर्नसमेत निकुञ्जकै बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

गत वैशाख ७ गते निर्माण कम्पनीसँग नौ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपछि भूमिगत विद्युतीकरणको काम अघि बढाइएको हो। नयाँ प्रणाली निर्माण सम्पन्न भएपछि माडी क्षेत्रमा विद्युत् आपूर्तिमा देखिँदै आएको समस्या कम हुनुका साथै विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : आइतबार, साउन २४, २०८३ | १७:०३:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया