स्वच्छ ऊर्जालाई ‘विकासको हब’ बनाउने एमालेको प्रतिबद्धता
जलविद्युत्, सौर्य र ग्रिन हाइड्रोजनमार्फत आत्मनिर्भरता र निर्यात लक्ष्य
जलसरोकार
काठमाडौं : नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि सार्वजनिक गरेको घोषणा–पत्रमा स्वच्छ ऊर्जालाई विकासको मुख्य आधार बनाउने प्रतिबद्धता जनाएको छ।
‘स्वच्छ ऊर्जा, स्वदेशमा खपत–हरित विकास, विदेशमा निर्यात’ नारासहित एमालेले जलविद्युत्, सौर्य ऊर्जा तथा ग्रिन हाइड्रोजनसमेतको विकासमार्फत ऊर्जा उत्पादन, प्रसारण र वितरणको आधुनिकीकरण गर्ने योजना अघि सारेको छ। ऊर्जा सुरक्षा सुनिश्चित गर्दै नेपाललाई दक्षिण एसियाको ‘स्वच्छ ऊर्जा निर्यातक हब’का रूपमा विकास गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ।
एमालेले विद्युत् उत्पादन र प्रतिव्यक्ति विद्युत् उपभोग दोब्बर बनाउने लक्ष्य लिएको छ। स्वच्छ ऊर्जा उत्पादन, प्रसारण तथा वितरण प्रणाली निर्माणका लागि राज्यको लगानी वृद्धि गर्ने तथा निजी क्षेत्रलाई उत्पादन र निर्यातमा प्रोत्साहन गर्ने नीति लिने जनाएको छ।
हिउँदको समयमा समेत विद्युत् आपूर्तिमा समस्या नआउने गरी माथिल्लो अरुण, दूधकोशी र बुढीगण्डकीजस्ता ठूला आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ। निजी क्षेत्रका विद्युत् आयोजना पनि तोकिएको समयसीमाभित्र सम्पन्न गरिने उल्लेख छ।
त्यस्तै, सुनकोशी–मरिन तथा भेरी–बबई नदी पथान्तरणसँग सम्बन्धित सिँचाइ तथा विद्युत् आयोजना सम्पन्न गर्ने घोषणा गरिएको छ। कृषि, उद्योग, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय तथा वित्तीय क्षेत्रको ऊर्जाको मागलाई प्राथमिकताका साथ आपूर्ति गर्ने नीति लिने जनाइएको छ। घरेलु उपभोगमा विद्युत्को प्रयोग बढाउन प्रोत्साहन गरिने उल्लेख छ।
तराई, उपत्यका तथा रामसार क्षेत्रमा डिप बोरिङ र लिफ्ट प्रणालीमार्फत सिँचाइका लागि आवश्यक विद्युत् सेवा सुपथ मूल्यमा उपलब्ध गराउने योजना पनि घोषणा पत्रमा समेटिएको छ।
सामुदायिक विद्युतीकरणलाई प्रोत्साहन गर्दै सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको दिगो व्यवस्थापनका लागि मौजुदा नीति, कानुन र नियमलाई पुनरावलोकन गरिने जनाइएको छ। जनताको घरदैलोको दैनिक उपभोगका लागि विद्युत् सेवा थप सुलभ बनाइने एमालेको प्रतिबद्धता छ।
ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योग सञ्चालन र कृषिको औद्योगिकीकरणका लागि ऊर्जाको सुनिश्चित व्यवस्था गर्न सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको क्षमता अभिवृद्धि गरिने पनि घोषणा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार