कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् संकटप्रति चासो व्यक्त गरेका छन् ।
मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार तथा घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
घटनापछि मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गर्दै विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल थालेको जनाएको छ । साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो । प्राविधिक निरीक्षणका क्रममा टावरको फाउन्डेसन (जग) नै पुनः निर्माण गर्नुपर्ने देखिएकाले मर्मत तथा पुनःस्थापनाको कार्य सम्पन्न हुन करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनुअघि नै प्राकृतिक प्रकोपका कारण संरचनामा क्षति पुगेपछि प्रदेशको ऊर्जा सुरक्षामाथि थप चुनौती सिर्जना भएको छ ।
मन्त्री श्रेष्ठले मर्मत कार्यलाई उच्च प्राथमिकतामा राखी युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य