सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो, ७५ प्रतिशत काम सम्पन्न
जलसरोकार
सङ्खुवासभा: सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । २१ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको ४ हजार ११० मिटर लामो सुरुङ सोमबार सफलतापूर्वक ‘ब्रेक थ्रु’ गरिएको हो ।
एक कार्यक्रमकाबीच अर्बिट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ छिचोल्ने कार्यको औपचारिक उद्घाटन गरेका छन् । निजी क्षेत्रको पहलमा अघि बढाइएको यो आयोजना सभापोखरी गाउँपालिका–३ मा इन्टेक एरिया रहेको छ भने वडा नं ३, ४ र ५ क्षेत्रमा निर्माण कार्य भइरहेको छ ।
आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तका अनुसार जलाशयको मुहान (इन्टेक)देखि पेनस्टक पाइप जडान हुने स्थानसम्मको मुख्य सुरुङ छिचोलिएको हो । अब सुरुङभित्र कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट आएको पानीलाई १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।
हालसम्म आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको छ । विसं २०७९ कात्तिक २३ गतेदेखि निर्माण सुरु भएको आयोजनालाई आगामी वैशाख २३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको इन्चार्ज पन्तले जानकारी दिए ।
उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिनेछ । आयोजनाअन्तर्गत प्रसारण लाइनको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
करिब रु पाँच अर्ब लागत रहेको यस आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालि रहेको छ । साथै सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा स्थानीयलाई रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा बेलिब्रिज पुल निर्माणलगायतका सामाजिक विकासका कामसमेत अघि बढाइएको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै