जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बंगलादेशमा बिजुली निर्यात गर्न छिट्टै त्रिपक्षीय सम्झौता हुँदैछ : प्रधानमन्त्री दाहाल

जलसरोकार
शुक्रबार, जेठ ३२, २०८१ | १४:३६:५५ बजे

 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन मुलुकका विद्युत व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको विद्युत बंगलादेश निर्यात सुरु हुने बताएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी  हेटौंडा सबस्टेसनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बंगलादेश विद्युत् निर्यात सुरु हुने दिने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण हुने बताए ।  

‘केही दिनअघि  समकक्षी सम्माननीय श्री नरेन्द्र मोदीजीको शपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्धिपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायतका विषयमा महत्वपूर्ण छलफल गरेको छु, यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास लिएको छु,’ प्रधानमन्त्रीले भने । 
उनले देशभित्र खपत गर्न नचाहेर भारततर्फ विद्युत् निर्यात गरिरहेको नबुझ्न पनि सबैलाई आग्रह गरे । देशभित्र खपत बढाउन अझै पनि पूर्वाधार अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पूर्वाधार सुधार तथा विस्तार गर्ने र खपत गरी बढी बचत भएको विद्युत् निर्यात आवश्यक रहेको बताए । 

उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत्को खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन पनि दिए । 

‘हेटौंडा सबस्टेसनलाई ढल्केबर सबस्टेसनसम्म जोड्ने ४०० केभी प्रसारण लाइन निर्माणमा विगत ६/७ वर्षदेखि अवरोध रहेको मैले जानकारी पाएको छु । यस्तो रणनीतिक महत्वको प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन स्थानीयलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री दाहालले  भने, ‘स्थानीय समुदायले उठाउनुभएका जायज मागलाई सम्बोधन गरी बाँकी काम तत्काल सम्पन्न गर्न पनि म सम्बन्धित पक्षलाई निर्देशित गर्दछु । साथै स्थानीय सरकार र प्रशासनलगायत सम्वन्धित निकायहरूलाई विकास निर्माणको कार्यमा आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्दछु ।’ 

प्रधानमन्त्रीले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा यस्ता ठूला–ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार मात्र नगराई त्यस्ता गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको उल्लेख गरे । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले देशभित्रको विद्युत् उपभोग क्षमता बृद्धि गरी बचत भएको विद्युत् निर्यात गर्ने गर्ने र ऊर्जामा आत्मनिर्भर बन्ने योजनाकासाथ काम अगाडि बढाइएको बताए । मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा रहेको मार्गधिकारको समस्या समाधान गर्न जलविद्युत आयोजनामा जस्तै प्रभावितहरुलाई सेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको उल्लेख गरे । उनले मार्गधिकारमा परेका जग्गाको कित्ताकाटको समस्या नीतिगत रुपमै सम्बोधन गर्न काम भइरहेको बस्नेतले जानकारी दिए । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुरका संघीय सांसदहरु दीपक बहादुर सिंह र महेश बर्तोलाले स्थानीयका जायज मागलाई सम्बोधन गरी विकास आयोजनाहरु अगाडि बढाउनु पर्नेमा जोड दिए । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिगत ७/८ वर्षको तुलानामा अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा गुणात्मक फड्को मारिएको बताए । जग्गा प्राप्ति ऐनमा अध्यादेशमार्फत गरिएको संसोधनले प्रसारण लाइनको निर्माणमा जग्गा प्राप्तिको समस्यालाई झनै जटील बनाएको उल्लेख गर्दै उक्त संसोधन गरिएको व्यवस्थालाई संसदबाट कानुन बनाउँदा विशेष ध्यान दिन अनुरोध गरे ।
प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको जानकारी दिए ।  

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने उनले उल्लेख गरे ।
हेटौंडा सवस्टेसनलाई आवश्कताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । 
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको  छ ।  

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटांैडा, ढल्केबर इनरुवा ४०० के.भी. सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । 
हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनावाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।  

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीको कारणले सवस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केहि ढिलाइ भएको थियो । 
 

प्रकाशित मिति : शुक्रबार, जेठ ३२, २०८१ | १४:३६:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया