अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
जलसरोकार
म्याग्दी: रघुगङ्गा गाउँपालिका हुँदै बग्ने राहुघाट नदीमा निर्माण गरिएको ४८.५ मेगावाट क्षमताको ‘अपर राहुघाट’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
तुँदी पावर प्रवद्र्धक रहेको आयोजनामा बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड र उपकरण जडान कार्य सम्पन्न भएपछि मंगलबारदेखि परीक्षण उत्पादन थालिएको हो । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा सुरु गरिएको परीक्षणबारे आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
“आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो । परीक्षणका क्रममा समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौं,” तिमिल्सिनाले भने ।
गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामस्थित फेदीमा विद्युत्गृह रहेको आयोजनाको सुरुङ करिब ४,९०० मिटर लामो छ भने आउटलेटदेखि विद्युत्गृहसम्म ६८० मिटरको पेनस्टक पाइपलाइन जडान गरिएको छ ।
अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो, हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी, सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन र सुरुङ निर्माण साउथ एशियन इन्फ्रास्ट्रक्चरले गरेका हुन् । विसं २०७७ मा सुरु भएको निर्माण करिब पाँच वर्षमा पूरा भएको हो ।
यसअघि तुँदी पावरकै ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले असारदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले भदौदेखि उत्पादन सुरु गरेको छ ।
अपर राहुघाट र चिमखोला–राहुघाट–मङ्गले आयोजनाको संयुक्त अनुमानित लागत करिब रु १३ अर्ब रहेको छ। यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत अस्थायी रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
बन्दीदेखि चिमखोलास्थित विद्युत्गृहसम्म आठ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन ठूलोखोला र माथिल्लो ठूलोखोला आयोजनासँग साझेदारीमा बनेको हो भने चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले संयुक्त रूपमा निर्माण गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले