विद्युत उत्पादन क्षमताअनुसार प्रसारण लाइन विस्तार गर्नुपर्ने मन्त्री खड्काको भनाइ


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरी मात्र प्रसारण लाइन विस्तार गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवको अवसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा मन्त्री खड्काले विभिन्न नदीको उत्पादन क्षमता पहिल्याएर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा जोड दिए।
“कुन करिडोरमा कति विद्युत उत्पादन हुन्छ, त्यसको सुनिश्चितता गरेर मात्र प्रसारण लाइन निर्माण गर्नुपर्छ,” मन्त्री खड्काले भने, “यसरी गर्दा एउटैपटक जग्गा र वन अधिग्रहण गर्न सकिन्छ।”
उनले जलविद्युत उत्पादनका क्रममा वातावरणीय असरलाई समेत ध्यान दिनुपर्ने बताए। ऊर्जा क्षेत्रलाई मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा लिएको उल्लेख गर्दै खड्काले १० वर्षे ऊर्जा विकास खाका कार्यान्वयनमा ग्रीड कम्पनीको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
“ठूलो लगानी हुने ऊर्जा परियोजनामा सहजीकरण र वित्तीय व्यवस्थापनका लागि सरकार स्पष्ट खाका बनाएर अघि बढेको छ,” उनले भने, “ऊर्जा विकासको प्रमुख सहयात्रीका रूपमा निजी क्षेत्रलाई लिएका छौं।”
मन्त्री खड्काले कानूनी जटिलता र अन्य अवरोध क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाए। उनले ऊर्जा क्षेत्रमा अन्तरनिकाय समन्वय अपरिहार्य रहेको र छिमेकी मुलुकहरूसँग पारस्परिक लाभ लिनुपर्ने आवश्यकता औंल्याए।
विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीमा खुला पहुँच सुनिश्चित गर्न सरकारले प्रतिबद्धता जनाएको जानकारी दिए। ह्वीलिङ शुल्क निर्धारणका लागि आयोगले काम गरिरहेको उनले बताए।
ऊर्जा सचिव तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका अध्यक्ष सुरेश आचार्यले कम्पनीलाई देशको समग्र प्रसारण प्रणालीको निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासका लागि तीन तहका सरकारबीच सुदृढ समन्वय आवश्यक रहेको धारणा राखे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठले आगामी १० वर्षमा प्रसारण पूर्वाधार सुदृढ बनाउने योजना प्रस्तुत गरे। हाल कम्पनीले ११ प्रसारण आयोजना विभिन्न चरणमा अघि बढाइरहेको छ।
वार्षिकोत्सवका अवसरमा मन्त्री खड्काले कम्पनीको ‘एक दशकको यात्रा’ पुस्तक विमोचन गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
दिव्य ज्योति हाइड्रोपावरलाई अपी पावरले खरिद गर्ने
-
भारी वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध
-
१४ वर्षदेखि अधुरो कमला पुल, वर्षायाममा डुङ्गामात्र सहारा
-
बैतडीको दुर्गम गाउँमा विद्युत् सेवा विस्तार
-
विद्युत उत्पादन क्षमताअनुसार प्रसारण लाइन विस्तार गर्नुपर्ने मन्त्री खड्काको भनाइ
-
डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, उपकरण जडान अन्तिम चरणमा