निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने
जलसरोकार
काठमाडौँ: सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिनसकिने उल्लेख गरिएको छ ।
“निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनहरूको विस्तार गरिनेछ । विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।
आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने, नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्नेलगायत विषयहरू सरकारको नीति तथा कार्यक्रममा परेका छन् ।
सुख्खायाममा समेत विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय ढाँचा अपनाइने जनाइएको छ । “तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ‘ग्रिड’ नपुगेका स्थानमा ‘अफग्रिड’ सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।
‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गराइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गरिने उल्लेख छ ।
‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्य योजना, २०८०’ अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवद्र्धन गर्ने नीति सरकारको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?