(६ मेगावाट) रेलेखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
जलसरोकार
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
ह्युम कन्सल्ट प्राली प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत्गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।
“नेपाल विद्युत् प्राधिकरण, परामर्शदाता, प्रवद्र्धक र ठेकेदारका प्राविधिकहरूको संयुक्त टोली परीक्षण कार्यमा खटिएको छ,” उनले भने,“परीक्षण सफल भएपछि व्यावसायिक विद्युत् उत्पादन सुरू गर्छौँ ।”
सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०\५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत्गृह निर्माण र बाँध देखि विद्युत्गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।
रेलेखर्कको विद्युत्गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु-याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए ।
रु एक अर्ब २० करोडलागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुँदै बाँध र विद्युत्गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै