जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा मन्त्री दलबलसहित हेलिकप्टर चढेर भोलि माथिल्लो तामाकोसी जाने

जलसरोकार
शुक्रबार, कात्तिक ०२, २०८१ | १३:४४:०५ बजे

काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्का आफ्ना दलबलसहित होलिकप्टर लिएर बाढी–पहिरोले क्षतिग्रस्त भएको २१ दिनपछि माथिल्लो तामाकोसी (४५६ मेगावाट) को स्थलगत अवलोकन गर्न भोलि शनिबार जाने भएका छन् ।
मन्त्री खड्काको टोलीमा मन्त्रालयका पदाधिकारी, माथिल्लो तामाकोसी कम्पनीका सञ्चालक समितिका सदस्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहभागी हुने ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
उता पहिरोले क्षति तुल्याएको माथिल्लो तामाकोसीको मुहान संरचना क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रुपमा भइरहेको छ । माथिल्लो तामाकोसीले तिहारअघि नै नदी प्रवाही प्रणालीमार्फत ३ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि काम गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार माथिल्लो तामाकोसी सञ्चालक समितिका सदस्यहरुलाई क्षतिग्रस्त संरचनाबारे प्राविधिक र आर्थिक पक्षको ज्ञान दिलाउँदा भोलिका दिनमा निर्णय गर्न सजिलो हुनेछ । 
हालसम्मको प्रारम्भिक अनुमानअनुसार २ अर्ब ८० करोड रुपैयाँको नोक्सान भएको छ । तामाकोसीाको मुहान संरचना क्षेत्रका दुईवटै डिसेटलिङ बेसिनमा क्षति पुगेको छ भने बाँध नियन्त्रण कक्षको भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।
गत असोज १०–१२ गते परेको अबिरल वर्षाका कारण माथिल्लो तामाकोसीको बाँधस्थलमाथिको पहाडबाट अकल्पनीय पहिरो झरेर क्षति तुल्याएको हो । त्यस यता देशकै सबैभन्दा ठूलाे विद्युत् गृह ठप्प छ ।
निर्माणअघिको अध्ययनमा बाँधस्थलका दायाँबायाँ दुबै पहाडको भौगर्भिक अध्ययन गरिएको थियो । उक्त अध्ययनले बाँध बाँध्न सिफाारिस गरेको थियो । तर उक्त पहिरो कहाँबाट आयो भन्ने नै अहिलेसम्म थाहा छैन । 
यता ऊर्जा मन्त्री र उनका फौजको लर्काेले निर्माण कार्यलाई बढावा दिनेभन्दा अनावश्यक स्यहार सुसार गर्नुपर्ने भएकाले माथिल्लो मन्त्रीको भ्रमण रुचिकर नभएको मन्त्रालय स्रोत बताउँछ । 
मन्त्री र उनको डफ्फाको सम्पूर्ण खर्च माथिल्लो तामाकोसीको प्रवर्द्धक कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले बेहोर्ने भएको छ ।
मन्त्रीको भ्रमणको चाँजोपाँजो र बन्दोबस्ती मिलाउन केन्द्रबाट कर्मचारीहरु हिजोदेखि नै गइसकेका छन् ।
माथिल्लो तामाकोसी निर्वाध रुपले सञ्चालन हुँदा पनि देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, ऊर्जा मन्त्री तथा अर्थमन्त्रीहरु भ्रमण गर्न रुचाउँछन् ।
कोरोनाकालमा तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सांसदहरुको दलबलसहित माथिल्लो तामाकोसीको स्थलगत निरीक्षणका लागि उर्दी जारी गरेको समाचार सार्वजनिक भएपछि भ्रमण स्थगित गरेका थिए । 
 

 

प्रकाशित मिति : शुक्रबार, कात्तिक ०२, २०८१ | १३:४४:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया