राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले हिजो मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’ सम्बन्धी छलफलमा उनले भविष्यमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताएका हुन् ।
'एउटै नदीबाट कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ, त्यसको मूल्याङ्कन गरेर प्रसारण लाइनको गुरुयोजना निर्माण गर्नुपर्छ, उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ,'– ऊर्जामन्त्री खड्काले भने ।
उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि प्रसारण लाइनमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे । मुलुकको आम्दानीको मुख्य क्षेत्र ऊर्जा भएकाले यसको विकासमा विशेष योजना बनाउनुपर्ने उनको भनाई थियो ।
ऊर्जामन्त्री खड्काले काम गर्ने सिलसिलामा अप्ठेरो देखाएर अल्झने ठाउँ नभएकाले अप्ठयारा सबैलाई हटाएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रसारण लाइन विस्तारमा निजी क्षेत्रलाई समेत आवद्ध गराउन लागिएकाले काम गर्नका लागि लगानी जुटाउनसमेत आग्रह गरे ।
उनले प्रसारण लाइन निर्माणका क्रममा देखिएका वन र जग्गाप्राप्तिका समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए । जग्गा प्राप्तिका लागि तिर्ने शुल्क सरकारी र निजी क्षेत्रको एउटै मापदण्ड हुनुपर्ने उनको भनाई थियो । उनले ऊर्जा क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रसारण गुरुयोजना राम्रो बने पनि कतिपय कुराहरु परिष्कृत गर्नुपर्ने उनको भनाई थियो ।
ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रलाई प्रसारण लाइनमा फाइदा भएको कुरा बुझाएर लगानी गर्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रको विकास सरकार एक्लैले गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका ऊर्जा विज्ञ प्रवल अधिकारीले देशको आर्थिक रुपरेखा बदल्न ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताए । उनले भर्खरै निर्माण भएको प्रसारण गुरुयोजनालाई आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडि बढ्न सकिने बताए ।
ऊर्जा विज्ञ अधिकारीले प्रसारण लाइनको क्षेत्रमा ग्रीड कम्पनीसँगै नेपाल विद्युत प्राधिकरणले समेत काम गरेकाले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको आवश्यकताको आधारमा प्रसारण लाइन निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेको उल्लेख गरे ।
पूर्व ऊर्जासचिवहरु अनुप उपाध्याय, देवेन्द्र कार्की, दिनेश घिमिरे, स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीलगायतले बिजुली उत्पादन हुन लाग्दासमेत प्रसारण लाइन बन्न नसकेको अवस्थालाई चिर्नका लागि सरकारले प्रसारण लाइन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए ।
गुरुयोजनाभित्र दीर्घकालिन योजना बनाई सन्तुलित, प्रभावकारी प्रसारण प्रणाली विकास गर्ने, प्रसारण लाइन निर्माणमा दोहोरोपन र अपर्याप्तता हटाउनेलगायतका कुरालाई समेटिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए ।
यस्तै, साझा ट्रान्समिसन करिडोरलाई पहिचान गरी कार्यान्वयनको कानूनी व्यवस्था गर्ने, स्वतन्त्र ऊर्जा उत्पादकलाई जडान हब उपलब्ध गराई समयमै प्रसारण सेवा सुनिश्चितता गर्ने, जग्गा र वन क्षेत्रलाई विवेकपूर्ण व्यवस्थापन गर्ने, उत्पादित विद्युत खेर जाने वा प्रसारण प्रणालीको न्यून उपयोग हुन नदिने, सरकारी निकाय वा कम्पनी मार्फत, निजी र सार्वजनिक निजी साझेदारीमार्फत लगानीलाई समेत गुरुयोजनामा समेटिएको छ
सेयर बजारमा उच्च अङ्कको वृद्धि
राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
विद्युत प्राधिकरणलाई निजीकरण गर्न खोजिएको त होइन ?’
दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित
विद्युत प्राधिकरणको आर्थिक अवस्थाबारे ऊर्जामन्त्री खड्कालाई संसद्मा स्पष्ट जानकारी दिन रास्वपाको माग
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र