कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
जलसरोकार
कञ्चनपुर : जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा मानवीय अतिक्रमणका कारण कञ्चनपुर जिल्लाका सीमसार क्षेत्र तथा ताल–तलैयाको अस्तित्व गम्भीर सङ्कटमा परेको छ । जैविक विविधताको संरक्षण, जलसन्तुलन र पर्यावरणीय स्थायित्वका आधारस्तम्भका रूपमा रहेका यी प्राकृतिक सम्पदाहरू संरक्षण तथा सम्वद्र्धनको अभावमा क्रमशः नासिँदै गएका हुन् ।
सीमसार क्षेत्र प्राकृतिक पानी सञ्चित गर्ने थलो मात्र नभई दुर्लभ जलचर, जलपक्षी, माछा, गोही, कछुवा, अजिङ्गर तथा विविध वनस्पतिका लागि सुरक्षित बासस्थानका रूपमा रहेका छन् । यस्ता क्षेत्रले बाढी नियन्त्रण, भू–जल पुनर्भरण, स्थानीय तापक्रम सन्तुलन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले सीमसार क्षेत्र जैविक विविधता सन्तुलनको सूचक भएको उल्लेख गर्दै यसको संरक्षण नगरे जैविक विविधता नै गम्भीर जोखिममा पर्ने चेतावनी दिए । “सीमसार क्षेत्र दुर्लभ जलचर र जलपक्षीको प्रमुख बासस्थान हो,” उनले भने, “ताल–तलैयामा खलल पुग्दा माछा, गोही, कछुवा, जलपक्षी तथा सीमसारमा पाइने दुर्लभ वनस्पति क्रमशः लोप हुने अवस्थामा पुग्छन् ।”
उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका रानी ताल, शिकारी ताल, बाबा ताल, सलगौडी ताल र तारा तालजस्ता महत्वपूर्ण ताल–तलैया हाल जलकुम्भी, नरकट तथा अन्य अनावश्यक वनस्पतिले भरिँदै गएका छन् । सीमसार तथा ताल–तलैयाको नियमित संरक्षण र प्राकृतिक स्वरूप कायम राख्न आवश्यक बजेट र जनशक्ति अभावले समस्या थप जटिल बनेको उनको भनाइ छ ।
“पहिले ताल–तलैयाको संरक्षणका लागि छुट्टै बजेट व्यवस्था हुन्थ्यो,” संरक्षण अधिकृत झाले भने, “अहिले बजेट अभावका कारण सीमित स्रोतबाट ठूला तालको प्रभावकारी व्यवस्थापन गर्न कठिन भएको छ ।” उनले रानी ताल र शिकारी तालजस्ता ठूला ताल पुरिँदै जानु भनेको पानीको स्रोत सुक्नु मात्र नभई त्यसमा आश्रित जैविक विविधता नष्ट हुनु भएको स्पष्ट पारे ।
निकुञ्जभित्रका ताल–तलैयामा बसाइँ सरेर आउने जलपक्षीको सङ्ख्या पछिल्ला वर्षहरूमा केही सुधार देखिए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा आगामी दिनमा पुनः घट्न सक्ने चिन्ता उनले व्यक्त गरे ।
निकुञ्ज बाहिरका सीमसार क्षेत्रहरू भने झनै मानवीय अतिक्रमणको चपेटामा परेका छन् । सीमसार अतिक्रमण गरी खेतीपाती गर्ने, अवैज्ञानिक ढङ्गले माछापालन गर्ने तथा प्राकृतिक जलप्रवाह अवरुद्ध गर्ने प्रवृत्तिले धेरै ताल–तलैया पुरिँदै र सुक्दै गएका छन् ।
सव–डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवका अनुसार विगतमा वर्षभरि पानी रहने तालहरू अहिले वर्षायामपछि नै सुक्न थालेका छन् । “यसमा जलवायु परिवर्तनसँगै मानवीय गतिविधि उत्तिकै जिम्मेवार छन्,” उनले भने, ।
निकुञ्ज बाहिर जलपक्षीका लागि प्रसिद्ध पुरैनी तालको क्षेत्रफल वर्षेनी घट्दै गएको छ भने बन्दाताल र सोभा तालमा पर्यापर्यटनको नाममा जलपक्षीको प्राकृतिक बासस्थान मासिँदै गएको उनले बताए । यद्यपि सामुदायिक वन क्षेत्रभित्र रहेका केही तालहरूको संरक्षण जनसहभागितामार्फत हुँदै आएको उनको भनाइ छ ।
उनका अनुसार कृषिमा प्रयोग हुने रासायनिक मल र विषादी वर्षातको पानीसँगै बगेर नदी तथा ताल–तलैयामा पुग्दा जलस्रोत प्रदूषित हुँदै गएका छन् । यसले जलचर र जलपक्षीको प्रजनन स्वास्थ्य तथा आहारविहारमा गम्भीर असर पार्ने खतरा बढाएको छ । रासायनिक मल र विषादीको प्रयोग घटाई जैविक खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको जोड छ ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले चुरे क्षेत्रमा रहेका ताल–तलैया तथा सीमसार क्षेत्र संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । चुरे क्षेत्रबाट वर्षायाममा बगेर आउने माटो, ग्रेगान र साना ढुङ्गा ताल–तलैयामा जम्मा हुँदा ती क्षेत्र पुरिँदै गएको उनको भनाइ छ ।
कञ्चनपुरको चुरे क्षेत्रमा झिलमिला, बेदकोट, सुनदेवी, मुड्का, बैजनाथलगायत दर्जनौँ ताल–तलैया तथा सिस्ने सीमसार क्षेत्र रहेका छन् । यी क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
वन तथा वातावरण क्षेत्रमा लामो समयदेखि क्रियाशील वीरबहादुर राजवंशीले सीमसार क्षेत्र संरक्षणलाई पर्यापर्यटनसँग जोड्न सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै संरक्षणमा दीर्घकालीन योगदान पुग्ने बताए । “सरकार, स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, पर्याप्त बजेट र जनचेतना अभिवृद्धि गर्न सके मात्र ताल–तलैया जोगाउन सकिन्छ,” उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार