सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुलुकको ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुग्यो, ९९ प्रतिशतकाे घरमा विद्युत् पहुँच

जलसरोकार
आइतबार, वैशाख २७, २०८३ | ०९:३६:३६ बजे

 

काठमाडौं : नेपालको कुल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युत्‌काे आधारमा उक्त क्षमता निर्धारण गरिएको हो।

मन्त्रालयका अनुसार परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादित विद्युत् बाहेक हालको जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता ४ हजार ५०० मेगावाट नाघ्ने प्रक्षेपण गरिएको छ।

हाल निर्माणाधीन आयोजनाहरूबाट करिब ३ हजार मेगावाट विद्युत् थप हुने अपेक्षा गरिएको छ भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाहरूको क्षमता पनि करिब सोही बराबर रहेको मन्त्रालयले जनाएको छ।

प्रसारण लाइन र सबस्टेसन विस्तार

हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। त्यस्तै, १४ हजार ३२३ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्।

यसैगरी ३३ केभी क्षमताका करिब ८ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३०८ एमभिए क्षमताका सबस्टेसन निर्माण गरिएको मन्त्रालयले जनाएको छ।

विद्युत् चुहावट घटेर १२.५ प्रतिशतमा

सरकारको पहल, प्राधिकरणको विशेष अभियान तथा प्राविधिक सुधारका कारण देशभर विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ।

प्राविधिक चुहावटलाई थप घटाउन सबस्टेसन क्षमता विस्तार, प्रसारण लाइन स्तरोन्नति तथा आधुनिक प्राविधिक उपाय अपनाइने मन्त्रालयको भनाइ छ।

प्रतिव्यक्ति खपत र विद्युत् पहुँच बढ्दो

हाल प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ। राष्ट्रिय विद्युत् प्रणाली तथा वैकल्पिक ऊर्जा स्रोतमार्फत ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालले २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ भने करिब ५९० गिगावाट घण्टा विद्युत् आयात भएको उल्लेख गरिएको छ।

सौर्य र लघु जलविद्युत्‌काे योगदान

देशमा हाल सौर्य ऊर्जा उत्पादन क्षमता ६२.७ मेगावाट पुगेको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ।

सिँचाइ सुविधा विस्तार

सिँचाइतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइयोग्य जमिनमध्ये ५ लाख ३२ हजार ९० हेक्टर क्षेत्रमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित मिति : आइतबार, वैशाख २७, २०८३ | ०९:३६:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया