पूर्व प्रधानमन्त्री देउवा भन्छन् ‘ऊर्जा विकासका लागि निजी क्षेत्र अपरिहार्य, सहजीकरणमा सरकार दृढ’
जलसरोकार
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अपरिहार्य भन्दै सरकार सहजीकरणमा दृढ हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै देउवाले मुलुकको ऊर्जा विकासमा निजी क्षेत्रको योगदान सराहनीय रहेको बताए। "निजी क्षेत्रको लगानीकै कारण आज देश लोडसेडिङमुक्त भएको छ," उनले भने।
उनले थपे, "नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई खुला गर्ने नीति तत्कालीन कांग्रेस नेतृ शैलजा आचार्य जलस्रोत मन्त्री हुँदा लागू गरिएको हो, जसको फलस्वरूप आज निजी क्षेत्रको योगदान लगभग ८० प्रतिशत पुगेको छ।"
देउवाले इप्पान सदस्यहरूले उठाएका नीति, प्रक्रिया र सहजीकरणसँग सम्बन्धित समस्याहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, “देशमै बसेर लगानी गर्नेहरूलाई सरकारले दुःख होइन, सहजता दिनुपर्छ। लगानी विना समृद्धि सम्भव छैन।”
उनले वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज, विद्युत् खरिद सम्झौता (PPA), शेयर निष्कासन, प्रसारण लाइन जस्ता विषयमा देखिएका अड्चनहरू समाधान गर्न सरकारले द्रुत र स्पष्ट नीति लिनुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक उपलब्धिमा उदारवाद र निजीकरणको नीतिको भूमिका महत्त्वपूर्ण रहेको भन्दै, “यस नीतिको कार्यान्वयनमा भएका कमजोरी सुधार्दै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्छ,” भने।
ऊर्जा व्यापारतर्फ संकेत गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले सुरु गरेको ३९ मेगावाट विद्युत व्यापार सम्झौताबाट भारतसँगको सहकार्यको थालनी भएको स्मरण गरे। “म प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग दीर्घकालीन ऊर्जा व्यापारको आधार तय भएको हो,” उनले भने।
स्वदेशमा उद्योग–व्यवसाय सञ्चालनमार्फत विद्युत खपत बढाउनुपर्ने आवश्यकता औंल्याउँदै देउवाले सरकारले स्वदेशी तथा विदेशी दुबै प्रकारका लगानीकर्ताका लागि "ढुक्क वातावरण" बनाउनुपर्ने बताए।
समापनमा देउवाले इप्पान परिवारलाई वार्षिक उत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै सम्मानित हुने व्यक्तित्वहरूलाई पनि बधाई ज्ञापन गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
-
देशभर सामान्य मौसम, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति