‘अनुभव, संस्थागत निरन्तरता र ऊर्जा उद्यमीको साझा प्रतिनिधित्व’ को नारासहित २३ सदस्यीय बलराम खतिवडा समूहको प्यानल घोषणा
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडा नेतृत्वको समूहले आफ्नो प्यानल सार्वजनिक गरेको छ। इप्पानको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बलराम खतिवडाले २३ सदस्यीय टिम घोषणा गर्दै आफूहरूको समूहलाई “अनुभव, संस्थागत निरन्तरता र ऊर्जा उद्यमीहरूको साझा प्रतिनिधित्व” गर्ने टोलीका रूपमा प्रस्तुत गरेका छन्।
सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव बलराम खतिवडा स्वयं उम्मेदवार बनेका छन्। खतिवडासँग आबद्ध कम्पनीहरूमा एबीपी इनर्जी, एटलस इनर्जी र बराह मल्टिपावर लिमिटेड रहेका छन्।
उपाध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष भरतबहादुर खत्री, सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल तथा महिला उपाध्यक्ष पदमा सिर्जना खड्कालाई उम्मेदवार बनाइएको छ। यसले खतिवडा समूहले वर्तमान कार्यसमितिमा रहेका अनुभवी अनुहारलाई निरन्तरता दिन खोजेको संकेत गरेको छ।
महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाललाई उम्मेदवार बनाइएको छ। दुलाल पछिल्ला दिनमा इप्पानभित्र विधान, साधारणसभा निर्णय र संस्थागत वैधानिकताको विषयमा खुलेर बोल्दै आएका व्यक्ति हुन्। उनी नेतृत्व परिवर्तनभन्दा संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने पक्षमा सार्वजनिक रूपमा उभिएका थिए। उनको उम्मेदवारीलाई इप्पानभित्र चलिरहेको शक्ति संघर्षको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
सचिव पदमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला तथा ईशा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ भने कोषाध्यक्ष पदमा मिथुन पौडेललाई अघि सारिएको छ।
त्यस्तै सदस्य पदका लागि सोमनाथ कंडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कंडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त तथा प्रदीप ओलीलाई उम्मेदवार बनाइएको छ। सूचीमा जलविद्युत, लगानी, ऊर्जा विकास तथा विभिन्न निजी ऊर्जा कम्पनीसँग आबद्ध व्यक्तिहरू समावेश छन्।
खतिवडा समूहको प्यानल सार्वजनिक भएसँगै इप्पान चुनाव अब स्पष्ट रूपमा दुई शक्तिशाली समूहबीचको प्रतिस्पर्धामा प्रवेश गरेको देखिएको छ। यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उत्तम ब्लोन समूहले “इप्पान भिजन २०२९” सार्वजनिक गर्दै पीपीए, प्रसारण लाइन, निजी विद्युत व्यापार, स्टोरेज आयोजना र ऊर्जा नीति सुधारसम्बन्धी आक्रामक घोषणापत्र अघि सारेको थियो। त्यसको प्रत्यक्ष जवाफ नदिए पनि खतिवडा समूहले भने अनुभव, संस्थागत निरन्तरता र वर्तमान नेतृत्वसँगको कार्यसम्पादनलाई आफ्नो मुख्य आधार बनाएको देखिन्छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार अहिलेको इप्पान निर्वाचन केवल संस्थागत नेतृत्व चयनको विषय मात्र होइन। यो निजी ऊर्जा क्षेत्रको भावी शक्ति संरचना, सरकारसँगको पहुँच, ऊर्जा नीतिमा प्रभाव तथा जलविद्युतबाट विस्तारित ऊर्जा बजारतर्फ जाने संक्रमणको प्रतिस्पर्धा पनि हो। इप्पानभित्र महासंघमा रूपान्तरण, विधान संशोधन, सौर्य ऊर्जा कम्पनीहरूको प्रवेश तथा निजी क्षेत्रलाई प्रसारण लाइन र विद्युत व्यापारमा सहभागी गराउने बहस चर्किरहेका बेला आएको यो चुनावलाई ऊर्जा क्षेत्रकै सबैभन्दा महत्वपूर्ण संस्थागत प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘अनुभव, संस्थागत निरन्तरता र ऊर्जा उद्यमीको साझा प्रतिनिधित्व’ को नारासहित २३ सदस्यीय बलराम खतिवडा समूहको प्यानल घोषणा
-
महासंघ बनाउने एजेण्डादेखि पीपीए, प्रसारण लाइन र निजी विद्युत व्यापारसम्मका मुद्दा बोकेर चुनावी मैदानमा उत्तम ब्लोन समूह
-
उपमहासचिव दुलालद्वारा अध्यक्ष कार्कीको विज्ञप्तिमाथि गम्भीर आपत्ति
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजना पुनर्निर्माण तीव्र
-
कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार लगानीकर्ताले पाए १०–१० कित्ता
-
एकैदिन सुन तोलामा १० हजारभन्दा बढीले घट्यो