चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी: रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए ।
रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युत्गृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।
विद्युत्गृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।
माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युत्गृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।
प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवद्र्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।
अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ