तनहुँ जलविद्युत् आयोजनाको काम ७८ प्रतिशत सकियाे
जलसरोकार
दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजको कामले गति लिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
आयोजनाअन्तर्गत प्याकेज १ मा बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ मा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ मा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।
प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ । यस प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङलगायतका संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखेर कङ्क्रिटिङ कार्य सुरु गरिएको थियो । गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ । हालसम्म बाँध तथा सम्बन्धित संरचनामा पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट राखिसकिएको आयोजनाले जनाएको छ ।
प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस प्याकेजमा अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको र प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको आयोजना प्रमुख भण्डारीले बताए ।
जलाशयको पानी विद्युत्गृहसम्म पुर्याउन प्रयोग हुने मुख्य सुरुङमा अहिले कङ्क्रिट लाइनिङको काम भइरहेको छ । कुल एक हजार ४१८.७५ मिटर सुरुङमा कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७.७५ मिटर काम सम्पन्न भएको छ ।
त्यस्तै, प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम केइसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ । ३३ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ८३ वटा टावरको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा भइसकेका छन् ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए। यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ ।
तीनवटै प्याकेजमा भइरहेको निर्माण कार्यसँगै आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामा लगानी भित्र्याउन विश्वासिलो नियमन आवश्यक : मन्त्री श्रेष्ठ
-
ऋण तिर्नै ऋणको सहारा, सरकारको आन्तरिक ऋण ४ वर्षमै २८ प्रतिशत बढ्यो
-
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
-
७३ प्रतिशत अझै काउन्टरमै, विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
-
रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
-
मधेसमा घट्यो विद्युत् चुहावट, दुई महिनामै २० करोडभन्दा बढी बक्यौता असुल