सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ जलविद्युत् आयोजनामा विपद् प्रतिकार्यको नमुना अभ्यास

बाँधस्थलदेखि सेती-त्रिशूली दोभानसम्म पूर्वसूचनाका लागि १७ साइरन जडान, १० स्थानमा सचेतनामूलक बोर्ड

जलसरोकार
आइतबार, असोज २५, २०८३ | १९:०५:४० बजे

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्‌कालीन अवस्थामा उद्धार र प्रतिकार्यलाई प्रभावकारी बनाउन मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास गरेको छ ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्‌कालीन प्रतिकार्य उपयोजनाबमोजिम गरिएको अभ्यासमा प्याकेज-१ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युत्गृहलगायत संरचना तथा सम्बन्धित उपकरण) मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो ।

अभ्यासका क्रममा सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्‌कालीन अवस्थामा विभिन्न निकायबीच समन्वय गर्ने विधिबारे व्यावहारिक अभ्यास गरिएको थियो ।

नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक छविलाल गैह्रे, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालीभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता, वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा प्रबन्ध-सञ्चालक गैह्रेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्त्वमा जोड दिएका थिए । उनले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई आयोजनाले उच्च प्राथमिकतामा राखेको बताए ।

यस्ता अभ्यासले विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न र मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली

आयोजनाले बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे समयमै जानकारी दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

यसअन्तर्गत बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरिएको छ । त्यसैगरी, नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपत्‌कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ ।

आयोजनाले विपद् जोखिम न्यूनीकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाएको जनाएको छ । नियमित नमुना अभ्यास, आपत्‌कालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र तल्लो तटीय क्षेत्रका समुदायमा जनचेतना अभिवृद्धिमार्फत जनशक्ति तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : आइतबार, असोज २५, २०८३ | १९:०५:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया