तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइन परीक्षण सुरु, गुल्मी–बागलुङमा विद्युत् आपूर्ति थप सुदृढ हुने
जलसरोकार
गुल्मी, : नेपाल विद्युत् प्राधिकरणले गुल्मी सदरमुकाम तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारणलाइनको परीक्षण सुरु गरिएको छ । ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
प्राधिकरणका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण तथा प्रवाह गरिनेछ । आयोजना प्रमुख मनोज चौधरीका अनुसार दुई दिनसम्म परीक्षण सम्पन्न भएपछि मात्र प्रसारणलाइन नियमित सञ्चालनमा ल्याइनेछ ।
उक्त प्रसारणलाइन गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ तथा ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको छ ।
उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारणलाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावर खुला नछाड्न आग्रह गरेको छ । खतराको सङ्केत भएका स्थानबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरण कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
प्राधिकरणका अनुसार करिब रु ४ अर्ब ५० करोडभन्दा बढी लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । प्रसारणलाइन सञ्चालनमा आएपछि गुल्मी र बागलुङमा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको आयोजना प्रमुख चौधरीले बताए ।
कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराईमार्फत बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको छ । यसअघि बुटवल सवस्टेसनबाट लामो दूरीमा विद्युत् आपूर्ति हुँदा पटक–पटक सेवा अवरुद्ध हुने समस्या थियो । नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनसँगै ती समस्या समाधान भई जिल्लामा दीर्घकालीन रूपमा नियमित र सहज विद्युत् सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य