सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक विराजभक्त श्रेष्ठ नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तामाकोशी-५ को ठेक्का टुंगियो: ५.३२ अर्बमै इलेक्ट्रो-मेकानिकल काम, आयोजना कार्यान्वयनतर्फ

जलसरोकार
बिहीबार, चैत १९, २०८२ | १०:५५:१५ बजे

काठमाडौं : तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाअन्तर्गत इलेक्ट्रो-मेकानिकल उपकरण तथा प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया टुंग्याएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) मार्फत अघि बढाइएको उक्त ठेक्का प्रक्रियामा न्यूनतम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएसँगै आयोजना कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम बहुचरणीय मूल्याङ्कन प्रक्रिया पूरा गर्दै टुंग्याइएको यस ठेक्काअन्तर्गत प्राविधिक रूपमा योग्य ठहरिएका बोलपत्रदाताहरूका कागजातको प्रमाणीकरणका लागि सम्बन्धित प्रमाणपत्र जारी गर्ने निकाय, अन्तिम प्रयोगकर्ता (End User) तथा स्वयं बोलपत्रदातासँग स्पष्टीकरण लिइएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवका अनुसार प्राप्त कागजात र कानुनी विज्ञको रायका आधारमा ऐनको दफा ४७ (६) अनुसार सार्वजनिक निकायका प्रमुखबाट निर्णय गरिएको कम्पनीले जनाएको छ।

आर्थिक प्रस्ताव २०८२ चैत ८ गते खोलिएको थियो भने मूल्याङ्कन समितिले चैत १२ गते प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनअनुसार आयोजनाको स्वीकृत लागत अनुमान (Provisional Sum, Custom Duty र VAT बाहेक) करिब ५ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

प्रतिस्पर्धामा सहभागी कम्पनीहरूमध्ये हाङ्झोउ जियाङ्हे हाइड्रोइलेक्ट्रिक साइन्स एण्ड टेक्नोलोजी कम्पनी लिमिटेड (Hangzhou Jianghe Hydroelectric Science and Technology Co., Ltd) ले करिब ५ अर्ब ३२ करोड ३७ लाख रुपैयाँको प्रस्ताव पेश गरेको छ, जुन स्वीकृत लागतभन्दा ३.८६ प्रतिशतले कम हो।

यसको तुलनामा हाङ्झोउ रिसोर्स पावर इक्विपमेन्ट कम्पनी लिमिटेड र झेजियाङ ओरियन्ट इन्जिनियरिङ कम्पनी लिमिटेड (HRPE-ZOEC JV) को प्रस्ताव करिब ६ अर्ब १३ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन अनुमानभन्दा १०.८५ प्रतिशतले बढी देखिएको छ।

'यस आधारमा न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही प्रस्ताव पेश गर्ने कम्पनीलाई छनोट गरिएको हो,' यादवले जलसरोकारसित भने । प्राविधक तथा आर्थिक मा सफल बोलपत्रदातालाई  सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र ६९ (१) बमोजिम २०८२ चैत १३ गते सफल बोलपत्रदातालाई आशयपत्र (LOI) जारी गरिएको हो।

कम्पनीका अनुसार समयमै ठेक्का प्रक्रिया निष्कर्षमा नपुग्दा आयोजना कार्यतालिका प्रभावित हुने र लागत वृद्धि हुने जोखिम रहने भएकाले समयमै निर्णय गरिएको हो।

यससँगै आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना अघि बढिरहेको अवस्थामा इलेक्ट्रो-मेकानिकल ठेक्का टुंगिनु परियोजना कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

कम्पनीका अनुसार आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कार्य अघि बढिसकेको अवस्थामा इलेक्ट्रो-मेकानिकल ठेक्का ढिलाइ भए समग्र आयोजना कार्यतालिकामा असर पर्नुका साथै लागत वृद्धि हुने जोखिम रहन्छ। त्यसैले समयमै ठेक्का प्रक्रिया टुंग्याएर कार्यान्वयन चरणमा लैजानु आवश्यक रहेको कम्पनीको धारणा छ।

यसैबीच सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ अनुसार निर्णयप्रति असन्तुष्ट बोलपत्रदातालाई तोकिएको समयसीमाभित्र पुनरावलोकन समितिमा उजुरी दिने कानुनी व्यवस्था खुला रहेको पनि कम्पनीले उल्लेख गरेको छ।

तामाकोशी-५ आयोजना नेपाल विद्युत् प्राधिकरण (NEA) को सहायक कम्पनीका रूपमा ३ मार्च २०१७ मा स्थापना गरिएको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडमार्फत अघि बढाइएको हो। दोलखा जिल्लास्थित तामाकोशी नदीमा निर्माण भइरहेको यो आयोजना काठमाडौंबाट करिब १७० किलोमिटर सडक दूरीमा अवस्थित छ भने आयोजना क्षेत्र बिगु र गौरीशंकर गाउँपालिकाभित्र पर्दछ।

यो आयोजना अपर तामाकोशी जलविद्युत् आयोजनासँग टेन्डम (tandem) प्रणाली (एउटै नदी वा प्रणालीमा रहेका दुई (वा बढी) आयोजना एकअर्कासँग जोडिएर क्रमशः सञ्चालन हुने) मा विकास गर्ने अवधारणामा आधारित छ। जसअनुसार गोंगर क्षेत्रमा अपर तामाकोशीको टेलरेससँग अन्तरसम्बन्ध गरिएको इन्टेक संरचना रहनेछ भने भूमिगत विद्युत्‌गृह तामाकोशी नदीको दायाँ किनारमा, सुरी खोला संगम क्षेत्रनजिक निर्माण गरिनेछ।

९९.८ मेगावाट जडित क्षमताको यस आयोजनाबाट वार्षिक करिब ४९५.१४८ गिगावाट-घण्टा (रोल्वालिङ नसमेट्दा) र ५४३.४९४ गिगावाट-घण्टा (रोल्वालिङ  समेट्दा) ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। उत्पादन भएको विद्युत् गोंगर-खिम्ती २२० केभी ट्रान्समिशन लाइनमार्फत खिम्ती सबस्टेशनसम्म प्रवाह गरिनेछ, जसका लागि करिब ३.४ किलोमिटर लामो डबल सर्किट ‘लुप इन-लुप आउट’ प्रसारण लाइन निर्माण गरिनेछ।

प्रकाशित मिति : बिहीबार, चैत १९, २०८२ | १०:५५:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया