राजनीतिक हस्तक्षेपबीच पनि बक्यौता उठाउन सफल : ऊर्जा मन्त्री घिसिङ
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता उठाउने काममा सफलता प्राप्त भएकामा सबैलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार बिहान सन्देश जारी गर्दै भनेका छन्, “विगतमा बक्यौता उठाउन खोज्दा हटाइएको थिएँ, अहिले बक्यौता उठाउने जिम्मेवारीमा रहेकाले सबैको सहयोग र प्रयासले यो कार्य सफल भएको छ ।”
घिसिङका अनुसार डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये अधिकांश उद्योगहरूले पहिलो किस्ता भुक्तानी गरिसकेका छन् । “यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ,” उनले लेखेका छन् ।
मन्त्री घिसिङले बक्यौता भुक्तानी गर्ने उद्यमीहरूलाई धन्यवाद दिँदै सबैलाई कर तिर्ने जिम्मेवार नागरिक बन्न अपिल गरेका छन् ।
उनले थप लेखेका छन्, “नेपाल विद्युत् प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदमहरूमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो । तर सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।”
मन्त्री घिसिङले बक्यौता असुलीमा सहयोग र सहजीकरण प्रदान गर्ने प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्