सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राहुघाट जलविद्युत् आयोजनाको संरचना परीक्षण सुरु, छिट्टै विद्युत् उत्पादनको तयारी

जलसरोकार
आइतबार, असार ०७, २०८३ | ०९:५४:३८ बजे

 

म्याग्दी : राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेसँगै यसको प्रमुख भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको यस आयोजनाले अब विद्युत् उत्पादनको तयारी तीव्र बनाएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीस्थित बाँध, ६.२७ किलोमिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण प्रक्रिया सुरु भएको हो। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार शुक्रबार बाँध क्षेत्रमा निर्माण गरिएको डिसेन्डरमा पानी हालिएको छ भने आइतबारदेखि मुख्य सुरुङमा पानी भरिनेछ। उनले निर्माण सम्पन्न भएका संरचना र विद्युत्गृहका उपकरणहरूको परीक्षण सफल भएपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने बताए । 

तिल्केनीचौरस्थित विद्युत्‌गृहको निर्माण कार्य सम्पन्न भइसकेको छ र हाल रङरोगनको काम भइरहेको छ। २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका उपकरण जडान अन्तिम चरणमा पुगेका छन्। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ।

राहुघाट आयोजना निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा सिभिल निर्माण ठेक्का सम्झौता गरिएको थियो। ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभावलगायत कारण आयोजनाको काम प्रभावित भएको थियो। पटक–पटक म्याद थपिँदै आएको आयोजनालाई चौथो पटक थपिएको समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । 

इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार अमेरिकी डलरभन्दा बढी रकममा सम्झौता गरिएको थियो। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण भइरहेको छ।

आर्थिक समस्याका कारण २०७२ सालमा पुरानो ठेकेदारसँगको सम्झौता तोडिएपछि नयाँ प्रक्रियाबाट आयोजना अघि बढाइएको थियो। हालको ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो।

राहुघाट आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) समेत गरिसकेको छ। उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसका लागि आवश्यक चार वटा टावर तथा प्रसारण लाइन निर्माणको काम समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : आइतबार, असार ०७, २०८३ | ०९:५४:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया