नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग विस्तार गर्न सरकार बलियो कानुनी तथा नीतिगत आधार तयार गर्ने दिशामा अघि बढेको बताएका छन् । सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यस्ता नीति अपरिहार्य भएको उनको भनाइ छ ।
आज काठमाडौँमा सम्पन्न हरित ऊर्जा तथा कार्बन अर्थतन्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले संविधानले हरेक नागरिकलाई प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक सुनिश्चित गर्न र दिगो विकास लक्ष्य हासिल गर्न पनि हरित ऊर्जामै आधारित नीतिगत सुधार आवश्यक रहेको स्पष्ट पारे, ।
उनका अनुसार सरकारले विद्युतीय उपकरण तथा सवारीसाधनमा सहुलियत प्रदान गर्दै आएको छ भने सन् २०३५ सम्म सौर्य ऊर्जाको जडित क्षमता ५०० मेगावाट पु¥याउने लक्ष्य लिएको छ । हालै स्वीकृत इथानोल मिश्रणसम्बन्धी कार्यविधि पनि हरित ऊर्जाको प्रयोग बढाउने सरकारी प्रयासकै हिस्सा रहेको मन्त्री सिन्हाले उल्लेख गरे । साथै परम्परागत भट्टीलाई विद्युतीय भट्टीमा रूपान्तरण गर्नसमेत सहुलियत व्यवस्था गरिएको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले कुल ऊर्जा खपतमा अझै ६० प्रतिशत आयातित इन्धनमा निर्भर रहनु चुनौतीपूर्ण अवस्था भएको बताए । कार्बन उत्सर्जन घटाउने राष्ट्रिय लक्ष्य हासिल गर्न सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको उनको धारणा थियो ।
नीतिगत स्पष्टता हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर रहेको र निजी क्षेत्रलाई आकर्षित गर्ने काममा अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले बैङ्क तथा वित्तीय संस्थामा करिब ११ खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेको र ब्याजदर न्यून भएको अवस्थामा हरित ऊर्जामा लगानीका लागि यो उपयुक्त समय भएको बताए । “यो अवसर निजी क्षेत्रसम्म प्रभावकारी रूपमा पु¥याउन जरुरी छ,” उनले जोड दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशकले हालसम्म नवीकरणीय ऊर्जाबाट १४० मेगावाट विद्युत् उत्पादन भइसकेको जानकारी दिँदै यसलाई थप विस्तार गर्न २७ मेगावाट क्षमताका सौर्य ऊर्जा प्लान्ट निर्माण भइरहेको बताए । विद्युत् खपत बढाउन १३२ वटा चार्जिङ स्टेसन र ५१३ वटा चार्जिङ लेनको व्यवस्था गरिएको जानकारी पनि उनले दिए ।
सिँचाइ क्षेत्रमा आयातित इन्धनको प्रयोग घटाउने उद्देश्यले चार हजार १३७ वटा सोलार पम्प जडान गरिएको उल्लेख गर्दै उनले हरित ऊर्जामार्फत दिगो विकासतर्फ देश अघि बढिरहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य