प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह सक्रिय : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डि.आइ.जी) रमेश खरेलले आफू विरुद्ध सुनियोजित रुपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
घिसिङले आज एक प्रेस विज्ञप्ति जारी गरी निज खरेलबाट आफू विरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीत स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटक–पटक सम्प्रेषण भइरहेको उल्लेख गरेका छन् ।
खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट हिजो मङ्गलवारका दिन सामाजिक सञ्जालमार्फत आफ्नो दुष्प्रचार गरेको घिसिङको भनाई छ ।
‘पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्य मान्यता र आचार संहिताको ठाडो उल्लङ्घन तथा सञ्चार माध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।
‘स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि निज खरेलबाट मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ,’ विज्ञप्तिमा छ, ‘सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आम जनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन ।’
घिसिङले अगाडि भनेका छन्, ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ ।’
निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरु भइरहेका थिए र रहेको घिसिङको भनाइ छ ।
‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हक अधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय ईमान्दारी पूर्वक सञ्चालन गरिरहेका छन्,’ विज्ञप्तिमा छ ।
आफूले आफ्नो पदीय दुरुपयोग गरी आफ्ना दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको घिसिङले प्रष्ट पारे । ‘यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्,’ उनले भनेका छन् ।
नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको घिसिङले उल्लेख गरेका छन् ।
नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपहरुको घिसिङले खण्डन गरेका छन् । ‘यस्ता आरोपको भ्रममा नर्पन सबैलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले घिसिङलाई कमजोर बनाउन र मनोबल गिराउन उनी विरुद्धमा सुनियोजित रुपमा लागिरहेका छन् ।
‘प्रचलित सार्वजनिक खरिद कानून बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ,’ उनले भनेका छन् ।
नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक आफ्नो अन्य कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको पनि घिसिङले प्रष्ट पारेका छन् ।
‘नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ,’ उनले भनेका छन्, ‘ऊर्जा क्षेत्रका योजनाहरु कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रुपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु ।’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच