सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि निष्कासन
जलसरोकार
काठमाडाै : सोलु हाइड्रोपावर कम्पनीले आगामी मंसिर ७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्नेछ। यी समूहमा सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि दोस्रो चरणमा निष्कासन हुनेछ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँका २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा बिक्री गर्न लागेको हो। यसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १० लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ। प्रभावित तथा वैदेशिक दुवै समूहले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म आवेदन खुला रहने छ भने सो अवधिमा सेयर नबिकेमा पुस ७ गतेसम्म अवधि थपिनेछ। वैदेशिक रोजगार समूहका लागि छिटोमा मंसिर १० गतेसम्म आवेदन खुल्ने छ र आवश्यक परे मंसिर २१ गतेसम्म अवधि बढ्नेछ। प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयमार्फत फारम बुझाउन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। रन–अफ–रिभर प्रकृतिको यो आयोजना व्यावसायिक उत्पादनमा भइसकेको छ। ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ र प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ र जगेडा कोष १ करोड ५८ लाख रुपैयाँ छ। लगानी फिर्ता हुने अनुमानित अवधि ६.७८ वर्ष रहने कम्पनीले जनाएको छ।
कम्पनीले इक्रा नेपालबाट BB+ क्रेडिट रेटिङ पाएको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्छ। विद्युत् उत्पादन बहाल रहने अवधि वि.सं. २१०६ चैत ४ सम्म रहेको छ। कम्पनीका प्रमुख संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाईलगायत सांघाई र अग्रवाल परिवारका सदस्यहरू रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी २४ घण्टामा देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा आंशिक बदली रहने
-
मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि ड्रोनमार्फत सामग्री ढुवानीको सफल परीक्षण
-
दाना खोला जलविद्युतकाे इलेक्ट्रो–मेकानिकल काम फ्लोभेल इनेर्जीले गर्ने
-
अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना
-
नेपाल विद्युत प्राधिकरणकाे आधिकारिक वेबसाइट र अनलाइन सेवा ४८ घण्टा बन्द हुने