सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि निष्कासन
जलसरोकार
काठमाडाै : सोलु हाइड्रोपावर कम्पनीले आगामी मंसिर ७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्नेछ। यी समूहमा सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि दोस्रो चरणमा निष्कासन हुनेछ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत बराबर २ अर्ब रुपैयाँका २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा बिक्री गर्न लागेको हो। यसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १० लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ। प्रभावित तथा वैदेशिक दुवै समूहले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म आवेदन खुला रहने छ भने सो अवधिमा सेयर नबिकेमा पुस ७ गतेसम्म अवधि थपिनेछ। वैदेशिक रोजगार समूहका लागि छिटोमा मंसिर १० गतेसम्म आवेदन खुल्ने छ र आवश्यक परे मंसिर २१ गतेसम्म अवधि बढ्नेछ। प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयमार्फत फारम बुझाउन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। रन–अफ–रिभर प्रकृतिको यो आयोजना व्यावसायिक उत्पादनमा भइसकेको छ। ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ र प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ र जगेडा कोष १ करोड ५८ लाख रुपैयाँ छ। लगानी फिर्ता हुने अनुमानित अवधि ६.७८ वर्ष रहने कम्पनीले जनाएको छ।
कम्पनीले इक्रा नेपालबाट BB+ क्रेडिट रेटिङ पाएको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्छ। विद्युत् उत्पादन बहाल रहने अवधि वि.सं. २१०६ चैत ४ सम्म रहेको छ। कम्पनीका प्रमुख संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाईलगायत सांघाई र अग्रवाल परिवारका सदस्यहरू रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य