सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति

जलसरोकार
आइतबार, वैशाख ०६, २०८३ | ०९:४१:३९ बजे

 

बाँके: राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको करिब दुई दशक बितिसक्दा पनि हालसम्म ४६ प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही वर्षदेखि निर्माण सुरु भएको आयोजनाले अपेक्षित गति लिन नसकेको देखिएको छ ।

आयोजनाका निर्देशक राजु आचार्य का अनुसार हालसम्म कुल रु २३ अर्ब ७७ करोड २९ लाख खर्च भइसकेको छ, जुन कुल गुरुयोजनाको ४४.९५ प्रतिशत वित्तीय प्रगति हो । चालु आर्थिक वर्षका लागि रु ३ अर्ब ३० करोड ५९ लाख बजेट प्रस्ताव गरिए पनि रु १ अर्ब ५७ करोड मात्र विनियोजन भएको उनले बताए ।

चालु आवको चैत मसान्तसम्म रु ८५ करोड ७७ लाखभन्दा बढी खर्च भइसकेको छ । यस अवधिमा ७६.३१ प्रतिशत भौतिक र ५४.४८ प्रतिशत वित्तीय प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । तर हालसम्म करिब २४ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साह का अनुसार प्रारम्भिक गुरुयोजना रु १२ अर्ब ८० करोडमा आव २०७०/७१ भित्र सम्पन्न गर्ने लक्ष्यसहित स्वीकृत गरिएको थियो । पछि संशोधित गुरुयोजना अनुसार लागत बढाएर रु २५ अर्ब २ करोड पुर्‍याइयो र २०७६/७७ भित्र सम्पन्न गर्ने लक्ष्य राखियो ।

तर लक्ष्यअनुसार काम सम्पन्न हुन नसकेपछि पुनः अद्यावधिक गरी लागत बढाएर रु ५२ अर्ब ६४ करोड पुर्‍याइएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विसं २०७९ भदौमा स्वीकृत गरेको नयाँ गुरुयोजनाअनुसार अब आयोजनाको सम्पूर्ण काम आव २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट बाँकेका करिब १७ हजार परिवारका चार लाख कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ । बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहने बताइएको छ ।

इञ्जिनियर तनोज दुलाल का अनुसार आयोजना अन्तर्गत पश्चिमी र पूर्वी गरी दुई मुख्य नहरमार्फत सिँचाइ वितरण गरिनेछ। पश्चिमी नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ ।

हाल पश्चिमी मूल नहरअन्तर्गत डुडुवा शाखा नहर निर्माण भइरहेको छ, जसले करिब १६ हजार हेक्टर क्षेत्रलाई सिँचाइ सुविधा दिनेछ । यस शाखामा हालसम्म करिब २५ प्रतिशत प्रगति भएको छ भने डुडुवा क्याप निर्माण सम्पन्न भइसकेको छ ।

नहर विस्तारका लागि आवश्यक ४४० हेक्टर जग्गामध्ये हालसम्म १८३.२५ हेक्टर अधिग्रहण गरिएको छ । साथै सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ भने अन्य उपशाखा र पूर्वी नहरका बाँकी कामका लागि तयारी भइरहेको आयोजनाले जनाएको छ ।

दीर्घकालीन रूपमा कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय किसानहरू अझै पूर्ण लाभबाट वञ्चित भइरहेका छन् ।

प्रकाशित मिति : आइतबार, वैशाख ०६, २०८३ | ०९:४१:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया