एमसिए–नेपालद्वारा १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
जलसरोकार
काठमाडौँ : नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।
एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्ष मनाइरहेको वर्तमान क्षणमा हासिल यो कोशेढुङ्गाले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्नमा सम्पूर्ण सरोकारवालाको दृढ प्रतिवद्र्धता प्रतिविम्बित गरेको एमसिए नेपालले जनाएको छ ।
एमसिए नेपालले जारी गरेको विज्ञप्तिअनुसार नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसिए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेशनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु रहने बताए । ‘यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो,’ घिसिङले भने ।
समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल। फ्रान्सिस्कोले भने, ‘१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्ने सन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहत् २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौता एमसीए नेपालले गरिरहेको प्रगतिको स्पष्ट सूचक भएको बताए । ‘छिटो निर्माण सम्पन्न गर्नका लागि वृहत् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमि सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिवद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ,’ विष्टले भने ।
बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा