ऊर्जा मन्त्री खड्काका आर्थिक सल्लाहकार श्रेष्ठले भने, म अन्तर्देशीय बैठकमा बस्ने गरेकाे छैन

काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठले जलसरोकार अनलाइनमा प्रकाशित समाचारमा आफलाई आरोप लगाएजस्तो अन्तरदेशीय मिटिङ्ग तथा छलफलहरुमा आफू बस्ने नगरेको बताएका छन् ।
गत वैशाख ३० गते जलसरोकारमा प्रकाशित ‘नबिल बैंकको कर्मचारीलाई ऊर्जा मन्त्रालयको सल्लाहकार राखेपछि देशको गोप्य सूचना बाहिर पुर्याएको आशंका’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै श्रेष्ठले जलसरोकारलाई पत्राचार गरेका छन् ।
‘मैले मन्त्रालय तथा विद्युत् प्राधिकरणका कुनै पनि कर्मचारी साथीहरुसँग कागजात तथा सूचनाहरु माग गर्ने गरेको छैन,’ उनले पत्रमा भनेका छन्, ‘चर्चित व्यापारी एवं राजनितिज्ञ विनोद कुमार चौधरीसँग जोडेर उहाँको एजेण्टको रुपमा मलाई प्रस्तुत गरिएको विषय मिथ्या शिवाय केही नरहेको र समाचारमा भनेजस्तो मैले केही नगरेको स्पष्ट पार्दछु ।’
‘म मन्त्रालयमा माननीय मन्त्रीज्यूलाई आवश्यक परेको वेलामा मात्र उपस्थित हुने र मन्त्रीज्यूलाई आवश्यक परेको बेला आर्थिक विषयसँग सम्बन्धित सल्लाह वा सुझावहरु मात्र दिने गरेको व्यहोरा स्पष्ट पार्दछु,’ उनले भनेका छन् ।
मागिएको बखत सल्लाह दिने शिवाय मन्त्रालयसँग सम्बन्धित बिषयमा आफ्नो कुनै चासो एवं संलग्नता नरहेको र आफूले कुनै पनि कर्मचारीहरुलाई दवाव दिने वा दुव्र्यबहार गर्ने नगरेको उनले उल्लेख गरेका छन् ।
‘मैले मेरो विज्ञता वा बौद्धिक सम्पत्ति दिएबापत कुनै पनि प्रकारको सेवा सुविधा वा लाभ लिएको छैन,’ उनले भनेका छन्, ‘यसर्थ मैले हालसम्म माननीय मन्त्रीज्यूलाई असल मनसायका साथ सहयोग मात्र गर्दे आएको स्पष्ट पार्दछु ।’
‘उक्त समचारमा प्रस्तुत गरिएका विषय नियोजीत एवं प्रायोजित रहेको जस्तो देखिन्छ र उक्त समाचार प्रकाशनको उदेश्य मेरो व्यक्तिगत तथा सामाजिक जीवनलाई नोक्सानी पु¥याउने निहित चाहना अनुसार आएको देखिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘मलाई जोडेर प्रकाशन भएको यस प्रकारको तथ्यहीन समाचारहरुले मेरो उदाउँदै गरेको स्वच्छ व्यवसायिक जीवनलाई क्षति पु¥याउने कार्य गरेको हुँदा प्रकाशित समाचार प्रति खेद व्यक्त गर्दछु ।’
अतः विना आधार तथा प्रमाण प्रकाशित भएका उक्त समाचारहरुको स्वयम् खण्डन प्रकाशित गर्न जलसरोकार अनलाइन लाई आग्रह गर्दछु ।
सम्पादकको भनाई
उक्त समाचारमा नबिल बैंकका तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले श्रेष्ठलाई बैंकले औपचारिक रुपमा ऊर्जा मन्त्रीको आर्थिक सल्लाहकारको रुपमा नपठाएको र उनी बिदामा बसेको तथ्य समाचारमा उल्लेख छ ।
नबिल बैंकको तलब खाई नेपाल सरकार ऊर्जा मन्त्रालयसँग सम्बन्धित विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकहरुमा निज श्रेष्ठ बस्ने गरेको तत्कालीन प्रत्यक्षदर्शी समाचार स्रोतहरुले प्रमाणसहित जलसरोकारलाई जानकारी दिएका हुन् ।
ऊर्जा मन्त्रालयका सहसचिव सन्दिपकुमार देवलाई बसिसकेको हेलिकप्टरबाट ओराली निज श्रेष्ठलाई भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टरले नेपालको संखुवासभा भ्रमण गर्दा सँगै लगिएको सारा संखुवासभाबासीले देखेका थिए ।
भारतीय ऊर्जा मन्त्रीसँग अरुण तेस्रोको भ्रमणमा नबिल बैंकका एक साधारण कर्मचारी कुन हैसियतमा गएका थिए भन्ने तथ्य आफैमा एउटा समाचारको विषय थियो ।
भारत सरकारले गत नोभेम्बरमा आयोजना गरेको ‘सेभेन्थ सेसन अफ दि इन्टरनेशनल सोलार एलायन्स एसेम्बली, २०२४’ ऊर्जा कार्यक्रममा ऊर्जा मन्त्री खड्काले निज श्रेष्ठलाई कुनै हैसियतमा सहभागी गराएका थिए भन्ने पनि अर्काे प्रश्न हो । यहाँ तल निज श्रेष्ठ सरकारी औपचारिक कार्यक्रममा सहभागी भएकाे प्रमाण दिइएको छ :

निज श्रेष्ठ उभिएको लहरमा बायाँबाट दोस्रो हुन् ।

मन्त्री सहभागी भएको बैठकमा श्रेष्ठसमेत सम्मिलित भएको समाचार भारतीय अखबारहरुले लेखेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा
-
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउन नयाँ कानुनको आवश्यकता : अर्थमन्त्री पौडेल
-
सेयर बजारमा सामान्य अङ्कको गिरावट
-
पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
-
ऊर्जा मन्त्री खड्काका आर्थिक सल्लाहकार श्रेष्ठले भने, म अन्तर्देशीय बैठकमा बस्ने गरेकाे छैन
-
दुई दिनमा सुनको मूल्य प्रतितोला ३२ सय रूपैयाँ घट्यो