रसुवागढी जलविद्युत्काे कार्यकारी निर्देशक शाक्यले गरे अवलोकन
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लेहेन्दे खोला (भोटेकोशी) को बाढीबाट क्षतिग्रस्त १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पछिल्लो प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन् ।
आयोजनास्थल पुगेका शाक्यले बाँध, पावर हाउससहितका संरचनाको निरीक्षण गर्दै प्राविधिक अवस्थाबारे जानकारी लिएका हुन् । निरीक्षण टोलीमा चिलिमे जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराज महर्जन, उत्पादन विकास तथा सहायता विभागका निर्देशक राजा भाइ शिल्पकार, प्राधिकरणका निर्देशक श्रीराम पोखरेल तथा त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहाललगायत सहभागी थिए ।
निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले कठिन परिस्थितिमा पनि निरन्तर मेहनत गरेर काम अघि बढाएकोमा आयोजनाका प्राविधिक तथा कर्मचारीको प्रशंसा गरे । “मानसिक त्रासको अवस्थामा पनि निरन्तर काम गरेर अहिले दुई वटा युनिट सञ्चालनमा ल्याउनु प्रशंसनीय छ,” उनले भने,“सुख्खा मौसममा पनि यी दुई युनिटबाट करिब ४५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ, यो गतिशीलता कायम राख्नुपर्छ ।”
उनले हालसम्मको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिका कारण आएको क्षतिलाई ध्यानमा राखी थप सुधारका साथ अघि बढ्न निर्देशन दिए । आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको बताउँदै शाक्यले पहिलेको डिजाइनभन्दा अहिले नदीको अवस्था फरक भएकाले नदीले धार परिवर्तन गरेको यथार्थअनुसार डिजाइन परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए ।
विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको यो रन–अफ–रिभर आयोजनाले वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर, बाढीका कारण ठूलो क्षति हुँदा हालसम्म ११४ करोड रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए । उनका अनुसार आयोजनाले एक अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमा दाबी गरिसकेको छ । “हामी विस्तारै पुनः लयमा फर्किरहेका छौँ, अब थप तयारीका साथ अघि बढ्छौँ,” उनले भने, ।
आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्तोष अधिकारीले जानकारी दिए । रसुवामा आएको बाढीका कारण करिब ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो भने २५० मेगावाट बराबरका आयोजनाबाट विद्युत् उत्पादनसमेत अवरुद्ध भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता