सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरण अघि बढ्यो, अन्तरराष्ट्रिय बोलपत्र आह्वान

जलसरोकार
शुक्रबार, पुस ११, २०८२ | १४:५७:१६ बजे

 

सुर्खेत  : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अघि बढेको छ । आयोजनाको दोस्रो चरणका लागि अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरिएसँगै निर्माण प्रक्रिया तीव्र बनेको हो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर एकाइ कार्यालयले प्याकेज–२ (दोस्रो चरण) का लागि ग्लोबल बोलपत्र खुलाएको आयोजना प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिए । उनका अनुसार बोलपत्र आह्वानसँगै दोस्रो चरणका संरचनागत तथा वितरण प्रणालीसम्बन्धी काम सुरु हुने चरणमा पुगेको छ ।

पहिलो चरणअन्तर्गत विसं २०८१ भदौ १३ गते एकाइ कार्यालय सुर्खेतले चिनियाँ सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन कम्पनीसँग सम्झौता गरेको थियो । तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगर ल्याउने लक्ष्यसहित रु तीन अर्ब ५० करोड आठ लाखको लागतमा सम्झौता भई काम अघि बढिसकेको छ ।

नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजनाअन्तर्गत यो आयोजना कार्यान्वयन गरिरहेको छ । आयोजनामार्फत वीरेन्द्रनगरका करिब पाँच लाख स्थानीयलाई सुरक्षित खानेपानी सुविधा पु¥याउने लक्ष्य लिइएको आयोजना प्रमुख शाहले बताए ।

दोस्रो चरण (प्याकेज–२) अन्तर्गत ८०० किलोमिटर लम्बाइको पानी वितरण लाइन निर्माण, झुर्पामा खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोला, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति तथा विभिन्न स्थानबाट ट्रान्समिसन लाइन जडान गरिनेछ । इत्राम क्षेत्रमा एक हजार ५०० घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वचालित डाटा सङ्कलन प्रणाली जडान पनि यही चरणमा गरिनेछ ।

पहिलो चरणमा संरचना निर्माणको काम जारी रहेको छ । आयोजनास्थलमा रहेका चार सामुदायिक वनमध्ये दुई वटामा रुख कटान सम्पन्न भइसकेको छ भने अन्य दुई वटामा कटान कार्य जारी छ । सामुदायिक वन क्षेत्रमा करिब सात किलोमिटर पाइपलाइन निर्माण गर्न रुख कटान छिट्टै सुरु गरिने शाहले जानकारी दिए ।

मुख्य प्रसारण लाइन क्षेत्रमा रुख कटानसँगै अमृतडाँडामा तीन वटा मुख्य ट्याङ्की निर्माण सुरु भइसकेको छ । आयोजनाको मुहानसम्म पहुँचमार्ग निर्माणको तयारी पनि भइरहेको छ । पानी वितरणका लागि आवश्यक ३४ किलोमिटर पाइपलाइनमध्ये हालसम्म २३ किलोमिटरको ठेक्का लागिसकेको र १२ किलोमिटरमा पाइपलाइन विस्तार सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र खानेपानीको बढ्दो मागलाई ध्यानमा राख्दै आयोजना निर्माण थालिएको हो । हाल राजधानीवासीले भूमिगत पानी तथा साना खानेपानी आयोजनामार्फत पानी उपभोग गर्दै आएका छन् । तीनै तहका सरकारको संयुक्त पहलमा यो दीर्घकालीन आयोजना अघि बढाइएको हो ।

तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकारको लगानी सुनिश्चित गर्न र विश्व बैंकको वित्तीय सहयोग जुटाउन पहल गर्नुभएको थियो । सोही पहलका आधारमा सल्यान सदरमुकाम र सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी आयोजना निर्माणका लागि प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहमति जनाएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुस ११, २०८२ | १४:५७:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया