सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राकृतिक स्रोत संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिका लागि ‘सेभियर अफ नेशनल रिसोर्सेस-२०२६’ सम्मान घोषणा

जलसरोकार
शनिबार, जेठ ३०, २०८३ | १३:५५:०४ बजे
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल वाटर कन्जरभेसन फाउन्डेसन फर एकेडेमिक रिसर्च (NWCF) ले प्राकृतिक स्रोत संरक्षण तथा दिगो उपयोगमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली नागरिकलाई सम्मान गर्न ‘Saviour of National Resources, 2026’ का लागि नाम सिफारिस आह्वान गरेको छ।

फाउन्डेसनले सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा विभिन्न क्षेत्रमा उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्ने परम्परा भए पनि भूमि, पानी र वातावरणजस्ता प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगमा असाधारण योगदान दिने व्यक्तिहरूले अपेक्षित औपचारिक सम्मान कम पाएको उल्लेख गरिएको छ। यही कमीलाई सम्बोधन गर्न उक्त सम्मान कार्यक्रमलाई संस्थागत गरिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार सम्मान कार्यक्रमको उद्देश्य नेपालका प्राकृतिक सम्पदाको संरक्षणमा समर्पित व्यक्तित्वहरूको पहिचान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय रूपमा सम्मान गर्नु हो। पछिल्लो समय देशको प्राकृतिक स्रोतमा बढ्दो दबाब र चुनौती देखिएको सन्दर्भमा यस्ता योगदानको कदर अझ आवश्यक बनेको सूचनामा उल्लेख छ।

सम्मानित व्यक्तिलाई दोसल्ला, काँसको फलक (Bronze Plaque) तथा नगद एक लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

यसअघि उक्त सम्मानबाट बागमती सभ्यता संरक्षण अभियानका अभियन्ता स्वर्गीय हटराम वैद्य, नेपालमा जलस्रोतको महत्व उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय हरिमान श्रेष्ठ तथा जलस्रोत संरक्षण र दिगो उपयोगमा पाँच दशकभन्दा बढी समय समर्पित विद्वान भुवनेश कुमार प्रधान (२०२५) सम्मानित भइसकेका छन्।

फाउन्डेसनले जनाएको अनुसार यो सम्मान कार्यक्रम फाउन्डेसनका विशिष्ट फेलो रत्न संसार श्रेष्ठले आफ्ना दिवंगत अभिभावक स्वर्गीय बद्री लक्ष्मी श्रेष्ठ र स्वर्गीय रत्नबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरेको विशेष कोषमार्फत सञ्चालन हुँदै आएको हो।

को-को मनोनयन हुन सक्ने?

फाउन्डेसनका अनुसार नेपालको प्राकृतिक स्रोतको संरक्षण, संवर्द्धन तथा न्यायोचित उपयोगमा महत्वपूर्ण योगदान पुर्‍याएका कुनै पनि व्यक्तिलाई मनोनयन गर्न सकिनेछ। तर, स्वयंले आफ्नै नाम प्रस्ताव गर्न पाइने छैन।

सार्वजनिक सेवा, अनुसन्धान, वकालत, अभियान, सामाजिक सक्रियता वा पेशागत अभ्यासमार्फत राष्ट्रिय हितमा प्रभाव पार्ने व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ।

के-के कागजात चाहिन्छ?

मनोनयनका लागि उम्मेदवारको संक्षिप्त जीवनी वा बायोडाटा, राष्ट्रिय स्रोत संरक्षणमा गरेको विशेष योगदानको विस्तृत विवरण तथा त्यससँग सम्बन्धित लेख, अनुसन्धान, प्रतिवेदन वा श्रव्यदृश्य सामग्री संलग्न गर्नुपर्नेछ। साथै, प्रस्तावक र उम्मेदवार दुवैको सम्पर्क विवरण अनिवार्य गरिएको छ।

फाउन्डेसनले नजिकका आफन्त वा स्वार्थ बाझिन सक्ने व्यक्तिको नाम सिफारिस नगर्न पनि आग्रह गरेको छ।

मनोनयन बुझाउने अन्तिम मिति २९ जुन २०२६ तोकिएको छ। आवेदन नेपाल वाटर कन्जरभेसन फाउन्डेसन फर एकेडेमिक रिसर्च (NWCF), चुन्देवी मार्ग, काठमाडौंमा बुझाउन सकिनेछ। साथै [email protected] मार्फत पनि विवरण पठाउन सकिने जनाइएको छ।

प्रकाशित मिति : शनिबार, जेठ ३०, २०८३ | १३:५५:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया