संखुवाखोला (४१.०६ मेगावाट) जलविद्युत्मा ८ अर्ब २० करोड रुपैयाँको लगानी सम्झौता
जलसरोकार
काठमाडौं : चर्चित व्यावसायिक घराना एसजी ग्रुपले प्रवर्द्धन गरेको संखुवा खोला (४१.०६) मेगावाट जलविद्युत् आयोजनाको ८ अर्ब २० करोड रुपैयाँको वित्तीय सम्झौता भएको छ ।
देशका उत्कृष्ट चारवटा व्यापारिक बैंकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण र प्रवद्र्धकहरुले २ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
कुल लगातको ७५ प्रतिशत रकम बैंकहरुले लगानी गने र २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुले गर्ने गरी हिजो साँझ काठमाडौंको होटल बाराहीमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भयो ।
उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंक सहभागी छन् । अगुवा बैंक सिटिजन्स बैंक इन्टरनेशनलले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने छन् ।
लगानीसम्बन्धी सम्झौतामा एसजी ग्रुपका अध्यक्ष एवं प्रवद्र्धक कम्पनी गुराँस हाइड्रोका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरे र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष घिमिरेले उक्त आयोजनाबाट २०८५ कात्तिक २० गतेभित्र नेपाल विद्युत् प्राधिकरणको संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकास्थित निर्माणाधीन २२०÷१३२ केभी शीतलपाटी सवस्टेशन प्रसारण लाइनमा जोडिने गरी २०७७ माघ ९ गते प्राधिकरणसँग सम्झौता भएको बताए ।
घिमिरेका अनुसार वित्तीय संस्थाहरुसित लगानी सम्झौता हुनुअघि नै २०८० मंसिर १४ गतेदेखि निर्माण कार्य प्रारम्भ भएको हो । घिमिरेले प्राधिकरणसित गरिएको सम्झौता मिति (२०८५ कात्तिक २०) अघि नै ६ महिनाा छिटो हुने गरी निर्माण कार्य प्रारम्भ गरिएको बताए ।
४२ मिटर लामो र ५ मिटर उचाईको बाँध निर्माण हुनेछ । प्रतिसेकेण्ड १५.२५ घनमिटर पानीलाई ३ सय १५ मिटरको उचाईबाट खसाल्दा वार्षिक २४ करोड ९ लाख २९ हजार युनिट बिजुली उत्पादन जानकारी अध्यक्ष घिमिरेले दिए ।
हालसम्म आयोजनालाई आवश्यक पर्ने निजी जग्गा खरिद गरिसकिएको, सरकारी तथा वन क्षेत्रको जग्गा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमै उल्लेख भएको, आयोजनाको पहुँच मार्ग, विद्युत् गृह, अडिट (सुरुङ खन्न जाने सुरुङी बाटो), सर्जसाफ्ट, आउटलेट लगायतका निर्माण कार्य पूरा भएको घिमिरेले बताए ।
यसैगरी आयोजनालाई आश्यक पर्ने विद्युत् ऊर्जा, पानी, सञ्चार लगायतका पूर्वाधार तयार भइसकेको पनि घिमिरले बताए । यसैगरी आयोजनाको कार्यालय, निवास, गोदाम, निर्माण भइसकेको छ भने निर्माण सामग्री गिटी, बालुवा, क्रसर सञ्चालनमा रहेको छ ।
‘२०८१ कात्तिक २० गतेभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भए पनि नेपाल सरकार, स्थानीय वासिन्दा, बैंक वित्तीय संस्था तथा प्राविधिक पक्ष र नागरिक समाज सबै पक्षबाट यसै प्रकारको सहयोग निरन्तर प्राप्त भइरहने विश्वास राख्दै समय सीमाभन्दा ६ महिना अगावै उत्पादनमा ल्याउने लक्ष्य छ,’ घिमिरेले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ऋण प्रदायक वित्तीय संस्थाहरुको तर्फबाट उक्त आयोजनालाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘प्रवद्र्धक कम्पनीले भनेजस्तै निर्धारित समयभन्दा अगावै यो आयोजना सम्पन्न हुनेमा हामी विश्वस्त छौं र सञ्चालकहरुलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छौं,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘यो कम्पनीमा रहेका प्रवद्र्धकहरु अत्यन्त प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुन्छ, त्यसले गर्दा आयोजना पूर्ण रुपमा सफल हुनेमा हामी ढुक्क छौं ।’
प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार सिटिजन्स बैंक इन्टरनेशनलले हालसम्म २९ वटा जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकेको छ । ती आयोजनाको कुल क्षमता ६४२ मेगावाट छ । त्यसमध्ये १५ वटा आयोजनामा सिटिजन्स बैंकको अगुवाई रहेको छ । सिटिजन्स बैंकले तीनवटा जलविद्युत् आयोजनामा एकल लगानी गरेको र १२५ मेगावाट बराबरका १३ वटा आयोजना सञ्चालनमा आइसकेको पोखरेलले जानकारी दिए ।
आयोजनामा नेको इन्स्योरेन्सको करिब ८ प्रतिशत लगानी रहेको छ । नेको इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले आयोजना निर्धारित समयमा पूरा हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा