माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
जलसरोकार
काठमाडौं : सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन सार्वजनिक गरिएको छ।
विद्युत् विकास विभागले आज सूचना प्रकाशित गर्दै सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ। साथै, त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
प्रवर्द्धक कम्पनी Gorkhaj Himalayan Hydro Limited ले विद्युत् नियमावली, २०५० बमोजिम प्रसारण लाइन निर्माणको अनुमति माग गरेपछि आइइई प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ।
विभागका अनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने देखिएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति, स्थानीयवासी वा संस्थाले लिखित राय–सुझाव पेश गर्न सक्नेछन्।
प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर रहनेछ। यसअन्तर्गत ३३ केभी प्रसारण लाइनका लागि २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारण लाइनका लागि दुईवटा टावर निर्माण गरिने योजना रहेको छ।
आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर तथा अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। प्रसारण लाइनको अधिकार क्षेत्र (राइट अफ वे) अन्तर्गत करिब ९.६६ हेक्टर क्षेत्रफल पर्नेछ।
विभागका अनुसार ३३ केभी प्रसारण लाइनका लागि न्यूनतम ६.६२ मिटर तथा १३२ केभी प्रसारण लाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ तथा प्रचलित वातावरणीय मापदण्डअनुसार भू–क्षय, बाढी, धूलो तथा वायु प्रदूषणजस्ता सम्भावित प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने विभागले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ