बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सभामुख अर्यालले भने : जति ढिलाइ हुनु थियो भयो, अब थप ढिलाइ गर्नु हुँदैन
जलसरोकार
काठमाडौं: सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र उक्त आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आज आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।
छलफलका क्रममा सभामुख अर्यालले बुढीगण्डकी आयोजना केवल विद्युत् उत्पादनसँग मात्र सीमित नभई पर्यटन प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोडिएको समग्र राष्ट्रिय महत्वको परियोजना भएको उल्लेख गरे ।
‘यो राष्ट्रिय गौरवको परियोजना हो । जति ढिलाइ हुनु थियो, भयो । अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।
स्पष्ट कार्यतालिका बनाएर कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गर्न अर्यालले आयोजना प्रमुखको ध्यानाकर्षण गराए ।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, आवश्यक समन्वयका लागि हामी तयार छौँ,” उनले आयोजना प्रमुखलाई भने ।
त्यसैगरी ऊर्जा मन्त्रालयका सहसचिव रुद्रसिंह तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक सहयोगका लागि कुनै कसर बाँकी नराखिने बताए ।
कार्यक्रममा सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई प्राथमिकता दिनुले देशको समृद्धिप्रति सरकार गम्भीर रहेको स्पष्ट हुने धारणा व्यक्त गरे ।
एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना गोरखा र धादिङको सिमानामा निर्माण हुने राष्ट्रिय गौरवको महत्वपूर्ण परियोजना हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै