बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजना पुनर्निर्माण तीव्र
जलसरोकार
काठमाडौं : गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्य तीव्रगतिमा अघि बढाइएको छ।
बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुग्दा आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो। हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणहरूको सफाइसमेत सम्पन्न भइसकेको छ।
बाढीले क्षति पुर्याएको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत्गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माण कार्य जारी रहेको छ।
आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर २०८२ असार २४ को बाढीपछि आयोजना पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको हो।
करिब २३ अर्ब ७३ करोड रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनामा ४.८ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्गृहमा पुर्याइन्छ। तीनवटा फ्रान्सिस टर्बाइनमार्फत अधिकतम १११ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले जानकारी दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्