रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न, २४९ घरधुरीलाई घर–घरमा पानी आपूर्ति
जलसरोकार
म्याग्दी: बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ मचभबm पूरा गर्ने उद्देश्यसहित निर्माण गरिएको रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित यस योजनाबाट २४९ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाका अनुसार भौतिक संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका रूपमा पानी वितरण थालिएको छ । “कालीगण्डकीको पानीलाई विद्युतीय उपकरणको सहायताले तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य तथा शाखा लाइनमार्फत घर–घरमा आपूर्ति सुरू गरेका छौँ,” उनले बताए । उपभोक्ताको श्रमदानसहित करिब रु ३ करोड ५० लाखमा योजना निर्माण सम्पन्न भएको हो ।
तीन चरणमा पानी उठान, ६५ हजार लिटर क्षमताका ट्याङ्की
रत्नेचौरको फेदीस्थित लामगरा क्षेत्रमा १० मिटर गहिरो इनार खनेर २५ एचपी क्षमताको पम्प जडान गरिएको छ । पानी सुन्दरचौरमा निर्माण गरिएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की (२५० मिटर उचाइमा) र त्यहाँबाट उपल्लाचौरको डहरेस्थित इन्टेकमा थप तानिएर अन्ततः रत्नेचौर र सालघारीका दुई छुट्टाछुट्टै ट्याङ्कीमा आपूर्ति हुँदै आएको छ ।
रत्नेचौरमा ६५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की तथा सालघारीमा २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । कार्यालयका अनुसार कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भइरहेको छ । योजनाअन्तर्गत एक हजार ७ सय मिटर मुख्य पाइपलाइन र १७ किलोमिटर शाखा लाइन बिछ्याइएको छ ।
उपभोक्ताका घरमा मिटर जडित धारा
उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीका अनुसार अब घर–घरमा मिटर जडित धाराबाट नियमित पानी वितरण थालिएको छ । परीक्षणका क्रममा देखिएका त्रुटीहरू क्रमशः मर्मत र सुधार भइरहेको उनले बताए। दीर्घकालीन सञ्चालन र पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिएको हो ।
रत्नेचौरकी सरला पुनले सार्वजनिक धारामा पालो कुर्नुपर्ने झन्झट हटेको बताइन्। “अब निजी धाराबाट पानी आउँछ, समयको धेरै बचत भएको छ,” उनले भनिन् ।
उपभोक्ता अमर पुनले धारा निर्माण भएको तीन वर्षपछि पानी पाएको भन्दै खुसी व्यक्त गरे। घरायसी तथा सामुदायिक सरसफाइमा पनि सुविधा भएको अनुभव उनले साझा गरे ।
पुरानो आयोजनाको जीर्ण अवस्था, ‘लिफ्ट’ प्रविधिमा छलाङ
रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको पुरानो खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भइसकेको थियो । हिउँदयाममा मुहान सुक्ने तथा पर्याप्त पानी आपूर्ति नहुने समस्या स्थायी बन्दै गएपछि ‘लिफ्ट’ प्रविधि अपनाउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
उनका अनुसार जनप्रतिनिधि, उपभोक्ता र कार्यालयको पहलमा थलिएको योजना पुनः लयमा फर्काएर सफलतापूर्वक सम्पन्न गर्न सफल भएको हो ।
ठेक्का र वित्तीय पक्ष
सङ्घीय सरकारले गण्डकी प्रदेशलाई उपलब्ध गराएको विशेष अनुदानमा आधारित यस योजनाको ठेक्का विसं २०७६ असार २४ गते प्राकृतिक–प्रदीप जुम्ली जेभीले रु २ करोड ७५ लाखमा पाएको थियो ।
भौतिक संरचना निर्माण ठेकेदारले गरे पनि शाखा पाइपलाइन खन्ने–पुर्ने काम उपभोक्तामार्फत सम्पन्न गरिएको थियो, भने पाइप तथा फिटिङका सामग्री कार्यालयले उपलब्ध गराएको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा अनावश्यक संरचना कम गर्दै योजना लागत परिमार्जन गरी रु २ करोड ४० लाखमा झारिएको थियो। पाइप तथा फिटिङमा रु ६० लाख ६९ हजार, विद्युतीकरणमा रु ३३ लाख ८६ हजार, शाखा लाइनका लागि उपभोक्ताको रु ४२ लाख तथा आयोजना व्यवस्थापनमा रु १० लाख १५ हजार खर्च भएको कार्यालय प्रमुख ओझाले जानकारी दिए ।
यससँगै रत्नेचौरमा ‘एक घर, एक धारा’को लक्ष्य व्यवहारिक रूपमा पूरा भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल
-
सानिमा जुम खोला जलविद्युत् निर्माणस्थलमा मजदुरको मृत्यु
-
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ
-
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
-
रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न, २४९ घरधुरीलाई घर–घरमा पानी आपूर्ति
-
मुगुका युवाबाट ऊर्जा मन्त्री कुलमान घिसिङलाई ‘झरो’ उपहार, ९५ प्रतिशत जनतामा अझै उज्यालो नपुगेको पीडा व्यक्त