रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो
पहिलो व्यावसायिक वर्षमै विद्युत् बिक्रीबाट आम्दानी भए पनि बाढीको प्रभाव र वित्तीय खर्चले कम्पनी अझै सञ्चित घाटामै
जलसरोकार
काठमाडौं : १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरे पनि कम्पनी अझै सञ्चित घाटाबाट बाहिरिन सकेको छैन। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार सञ्चित घाटा बढेर रु. ८१ करोड ११ लाख ६७ हजार ४४७ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो घाटा रु. ३८ करोड १६ लाख २६ हजार ९४७ थियो। समीक्षा अवधिमा कम्पनीले रु. ४२ करोड ९५ लाख ४० हजार ५०० खुद नोक्सानी व्यहोरेको प्रतिवेदनमा उल्लेख छ।
विद्युत् बिक्रीबाट एक अर्ब १४ करोड रुपैयाँभन्दा बढी आम्दानी
व्यावसायिक उत्पादन सुरु गरेपछि कम्पनीले पहिलो पटक उल्लेख्य विद्युत् बिक्री आम्दानी गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब १४ करोड ७७ लाख ५७ हजार ६३० रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ। कम्पनीका अनुसार व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्ष भएकाले आगामी वर्षहरूमा उत्पादन स्थिर भएसँगै वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।
हिमताल विस्फोटजन्य बाढीले आयोजनामा ठूलो क्षति
व्यावसायिक उत्पादन सुरु भएको केही महिनामै २०८२ असार २४ गते आएको हिमताल विस्फोटजन्य बाढी (GLOF) ले आयोजनाका इन्टेक, डाइभर्सन वेयर, पहुँच सडक, पुल तथा अन्य संरचनामा क्षति पुर्याएको कम्पनीले जनाएको छ। प्रतिवेदनअनुसार क्षतिग्रस्त संरचनाको पुनःस्थापना कार्य जारी छ र एउटा उत्पादन युनिटबाट विद्युत् उत्पादन पुनः सुरु भइसकेको छ। बाँकी संरचनाहरू पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
प्रारम्भिक क्षति करिब रु. १.७५ अर्ब, बीमा दाबी प्रक्रिया जारी
बाढीबाट आयोजनामा करिब १ अर्ब ७५ करोड रुपैँ बराबरको प्रारम्भिक क्षति भएको कम्पनीको अनुमान छ। यद्यपि केही संरचना अझै मलबामुनि रहेकाले वास्तविक क्षतिको मूल्याङ्कन पूरा हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। कम्पनीले बीमा दाबी प्रक्रिया अघि बढाएको जनाएको छ।
दीर्घकालीन ऋणको भार अझै उच्च
कम्पनीले कर्मचारी सञ्चय कोषबाट लिएको दीर्घकालीन ऋण अझै करिब १,४७८ करोड रुपैयाँ कायम रहेको आर्थिक विवरणले देखाएको छ। उच्च वित्तीय दायित्व र ब्याज खर्चका कारण व्यावसायिक उत्पादन सुरु भए पनि कम्पनीको नाफामा तत्काल सकारात्मक प्रभाव पर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
एक नजरमा
- सञ्चित घाटा : रु. ८१.१२ करोड
- यो वर्षको खुद नोक्सानी : रु. ४२.९५ करोड
- विद्युत् बिक्री आम्दानी : रु. १.१४ अर्ब
- बाढीबाट प्रारम्भिक अनुमानित क्षति : रु. १.७५ अर्ब
- दीर्घकालीन ऋण : करिब रु. १,४७८ करोड
- चुक्ता पुँजी : रु. ६.८४ अर्ब
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो