रसुवा बन्दै ‘ऊर्जा राजधानी’, ९ राष्ट्रिय गौरवका आयोजनाबाट ३६५ मेगावाट उत्पादन
जलसरोकार
काठमाडौं : जलविद्युत् विकासको केन्द्रका रूपमा उदाइरहेको रसुवा जिल्लामा हाल ९ वटा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । ती आयोजनाबाट हालसम्म कुल ३६५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालको जलस्रोत विकास इतिहासमै पहिलोपटक रसुवाको २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना भूमिगत संरचनाबाट निर्माण गरिएको थियो । सोही आयोजनाबाट प्राप्त अनुभव र प्रविधिका आधारमा पछिल्ला आयोजनाहरू पनि आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै आएका छन् ।
हाल उत्पादन चरणमा रहेका आयोजनामा २० मेगावाटको चिलिमे, ५ मेगावाटको तल्लो मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, १४.८ मेगावाटको माथिल्लो साङ्जेन, ४२.५ मेगावाटको तल्लो साङ्जेन, १११ मेगावाटको रसुवागढी, १४.३ मेगावाटको अपर मैलुङ तथा ७८ मेगावाटको साङ्जेन खोला आयोजना रहेका छन् ।
यस्तै, २० मेगावाट क्षमताको लाङ्टाङ जलविद्युत् आयोजना हाल उत्पादन परीक्षण चरणमा रहेको छ ।
सुक्खायाममा उत्पादन घट्यो
हिउँदको सुक्खा मौसमका कारण हिमाली खोलामा पानीको बहाव घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाका अनुसार हाल दैनिक करिब एक लाख २० हजार युनिट मात्रै उत्पादन भइरहेको छ ।
तापक्रम बढ्दै हिमपग्लन सुरु भएको र मनसुन नजिकिएकाले आगामी दिनमा उत्पादन लक्ष्यअनुसार बढ्ने अपेक्षा गरिएको उनले बताए ।
प्राधिकरणले सुक्खायाममा उत्पादक कम्पनीहरूलाई प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले मासिक करिब २ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्दै आएको जनाएको छ ।
भूमिगत संरचनाको नमूना जिल्ला
चिलिमे आयोजनाबाट सिकिएको सीप र प्रविधि प्रयोग गर्दै रसुवागढी आयोजनामा ड्यामबाहेक अधिकांश संरचना भूमिगत रूपमा निर्माण गरिएको छ ।
यद्यपि, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले ड्याममा क्षति पुर्याएपछि पुनःनिर्माणका लागि विद्युत् सटडाउन अनुमति दिइएको छ ।
यस्तै, साङ्जेन जलविद्युत् कम्पनीका आयोजनाहरू पनि अर्ध–भूमिगत संरचनामा निर्माण गरिएका छन् ।
थप ३५६ मेगावाट निर्माणाधीन
रसुवामा हाल तीन ठूला जलविद्युत् आयोजना निर्माण चरणमा रहेका छन् । ती आयोजना सम्पन्न भएपछि थप ३५६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।
निर्माणाधीन आयोजनामा २१६ मेगावाटको अपर त्रिशूली–१, ६० मेगावाटको फलाखु खोला तथा १२० मेगावाटको भोटेकोशी आयोजना रहेका छन् । ती आयोजनाको निर्माण प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ ।
रसुवागढी जलविद्युत् आयोजनाका पूर्वकार्यकारी निर्देशक माधवप्रसाद कोइरालाका अनुसार ती आयोजना सम्पन्न भएपछि रसुवाले मात्रै ७०१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन सक्नेछ ।
जलविद्युत्ले फेरियो स्थानीय जीवन
जलविद्युत् आयोजनासँगै रसुवामा सडक, रोजगारी, पूर्वाधार र आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको स्थानीयवासी बताउँछन् ।
पहिलो चिलिमे आयोजना सञ्चालनपछि स्थानीयलाई शेयर वितरण गरिएको थियो । त्यसपछि रसुवागढी र साङ्जेन आयोजनाले पनि स्थानीय बासिन्दालाई शेयर उपलब्ध गराएका छन् ।
जिल्ला विकास समितिका तत्कालीन सभापति मिलन तामाङका अनुसार जलविद्युत् आयोजनाले स्थानीय नागरिकको जीवनस्तर उकास्नुका साथै जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार एक समय लोडसेडिङ भोगिरहेको नेपाल आज विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नुमा रसुवाका आयोजनाहरूको ठूलो भूमिका रहेको छ ।
“जलस्रोत सम्भावनाले भरिपूर्ण रसुवा अब नेपालको ‘ऊर्जा राजधानी’ का रूपमा चिनिन थालेको छ,” उनले भने, । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न
-
आइतबारका लागि मौसम चेतावनी : तराईमा तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
नेपालको ऊर्जा सुरक्षाको लागि दैलेखको प्राकृतिक ग्यास
-
नेपाल ग्रीन हाइड्रोजन युगतर्फ : हेटौंडामा २.५ मेगावाटको पाइलट परियोजना बन्ने
-
मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने
-
नेप्से घटे पनि कारोबार रकम भने ५ अर्ब ६२ करोड नाघ्यो