सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

जलसरोकार
मंगलबार, जेठ २६, २०८३ | १५:१२:३१ बजे

 

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माण गरिएको २२० केभी क्षमताको स्विचयार्ड सञ्चालनमा आएको छ। स्विचयार्ड सञ्चालनमा आएसँगै राहुघाट करिडोरअन्तर्गतका चार जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

रघुगङ्गा हाइड्रोपावर लिमिटेड द्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना को स्विचयार्डमार्फत राहुघाट करिडोरका आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गरिएको हो।

आयोजनाका प्रमुख राजबहादुर बिष्टले स्विचयार्डमा जडान गरिएका उपकरणहरूको परीक्षण सफल भएपछि सोमबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको जानकारी दिए । उनका अनुसार राहुघाट करिडोरका आयोजनाबाट आउने तथा राहुघाट आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइनमा ‘लुप इन–लुप आउट’ (एलआइएलओ) प्रविधिमार्फत जोड्ने संरचना तयार भएको छ।

आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेल का अनुसार स्विचयार्ड एआइएस (एयर इन्सुलेटेड स्विचयार्ड) प्रविधिमा निर्माण गरिएको हो। हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (BHEL) ले स्विचयार्ड निर्माण गरेको हो भने आवश्यक चारवटा प्रसारण लाइन टावरको निर्माण सम्पन्न भइसकेको छ।

हाल ३५.५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला तथा २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् यही स्विचयार्डमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भइरहेको छ।

निर्माणको अन्तिम चरणमा पुगेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् पनि यही स्विचयार्ड र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी ले सुरुङ, बाँध, विद्युत्गृहलगायतका भौतिक संरचना तथा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको र आयोजना परीक्षण उत्पादनको तयारीमा रहेको जानकारी दिए । 

भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसिएट्स (JP Associates) ले सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँ लागतमा आयोजना निर्माणको ठेक्का पाएको थियो। ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थपिएको थियो। प्रबन्ध सञ्चालक केसीका अनुसार चौथो पटक थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको छ।

 

प्रकाशित मिति : मंगलबार, जेठ २६, २०८३ | १५:१२:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया