राहुघाट जलविद्युत् आयोजनाकाे ९५ प्रतिशत भौतिक प्रगति, परीक्षण उत्पादनको तयारीमा
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा प्रवद्र्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति हासिल गर्दै परीक्षण उत्पादनको अन्तिम तयारीमा पुगेको छ ।
आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार सुरुङ, बाँध, विद्युतगृहलगायत मुख्य संरचनाको निर्माण कार्य सकिएको छ भने उपकरण जडानसमेत अन्तिम चरणमा पुगेको छ । अहिले फिनिसिङका काम भइरहेको र जेठभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ संरचनाको परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए ।
“सुरुङमा प्रवेश गर्ने चारवटा मार्ग बन्द गरेर पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ,” केसीले भने ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदी क्षेत्रमा बाँध निर्माण गरिएको छ भने करिब ६.२७ किलोमिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्राउने पोखरी निर्माण सम्पन्न भइसकेको छ । तिल्केनीचौरस्थित विद्युतगृहमा २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिट जडान अन्तिम चरणमा पुगेको छ ।
विद्युत उत्पादनपछि केन्द्रीय प्रसारण प्रणालीमा जोड्न स्वीचयार्ड निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
आयोजनाको निर्माण कार्य सन् २०१७ नोभेम्बर १७ मा भारतीय कम्पनी जेपी समूहसँग ठेक्का सम्झौता गरी सुरु गरिएको थियो । सुरुमा ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढीपहिरो र निर्माण सामग्री अभावका कारण पटक–पटक म्याद थप गरिएको छ ।
यसैगरी, इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग सम्झौता गरिएको थियो। आयोजनामा भारतीय आयात–निर्यात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।
राहुघाट आयोजनाले वार्षिक करिब २४ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनासँग सम्बन्धित प्रसारण संरचना निर्माणसमेत अन्तिम चरणमा पुगेकाले अबको केही महिनाभित्रै विद्युत उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य