राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
जलसरोकार
म्याग्दी: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।
सुरुङ, बाँध र विद्युत्गृहको संरचना निर्माण तथा उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनाले हाल केन्द्रीय ग्रिडमा विद्युत् जोड्न आवश्यक स्वीचयार्ड निर्माणलाई तीव्रता दिएको छ । आयोजनालाई आगामी मार्च महिनाभित्र परीक्षण उत्पादनमा लैजाने लक्ष्य राखिएको छ ।
रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टका अनुसार सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल कार्यहरू अन्तिम चरणमा पुगेका छन् । “२० मेगावाट क्षमताको टर्बाइन जडान गरेर ड्राइ टेस्टिङका लागि तयार पारिसकेका छौँ,” उनले भने,“मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन गरिएको छ ।”
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले आयोजनाको सिभिल निर्माण कार्य ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (वि.सं. २०७४ मङ्सिर ६) मा छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाको म्याद हालसम्म चार पटक थप भइसकेको छ, पछिल्लो पटक मार्च महिनासम्मका लागि म्याद थप गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजनाले जनाएको छ ।
निर्माणमा ढिलाइ हुनुका कारण कोरोना महामारी, बाढी–पहिरो जस्ता प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभाव रहेको सिभिल ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले जानकारी दिए ।
इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त ठेक्काको म्याद यही डिसेम्बर ३१ मा सकिँदैछ । भेलले अधिकांश उपकरण आयात गरिसकेको र जडान कार्य जारी रहेको छ ।
भारतीय आयात–निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना इन्जिनियरिङ, प्रक्युरमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा सञ्चालन भइरहेको छ ।
कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रियाबाट आयोजना अघि बढाइएको थियो। पछिल्लो ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको (डबल सर्किट) दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ । हालसम्म चारवटा टावर तथा आवश्यक प्रसारण लाइन निर्माण भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा वर्षौंदेखि थन्किएको २४ लाखभन्दा बढी धरौटी रकम लिन ३५ दिने समयसीमा
-
देशभित्र बिजुली खपत बढाउने कुरा नारा होइन, राज्य-क्षमताको परीक्षा हो
-
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
-
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
-
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
-
बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा