सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले क्षति पुर्‍याएको ११ दिनमै राहुघाटबाट विद्युत् उत्पादन पुनः सुरु

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | १७:४२:५५ बजे
तस्वीर : नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको राहुघाट जलविद्युत्‌ आयोजनाबाट ११ दिनमै विद्युत्‌ उत्पादन पुनः सुरु गरिएको छ। बाढीका कारण विद्युत्‌गृह डुबानमा पर्नुका साथै महत्वपूर्ण संरचना तथा उपकरणमा क्षति पुगेपछि बन्द भएको आयोजनाको एउटा २० मेगावाट क्षमताको युनिट बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

आयोजनाको विद्युत्‌गृहबाट उत्पादित विद्युत्‌ कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो। टेलरेस गेटमा क्षति भएपछि विद्युत्‌गृहभित्र पानी प्रवेश गरी डुबान भएको थियो। त्यसका कारण भर्खरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत्‌ उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो।

विद्युत्‌गृहमा जम्मा भएको पानी हटाएर बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक गणेश केसीले बताउनुभयो।

‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत्‌ उत्पादन सुरु गरेका छौं। अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ प्रबन्ध-सञ्चालक केसीले भन्नुभयो।

राहुघाट जलविद्युत्‌ आयोजनामा २०-२० मेगावाट क्षमताका दुईवटा युनिट छन्। एउटा युनिट सञ्चालनमा आएपछि आयोजनाबाट २० मेगावाट विद्युत्‌ राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुन थालेको छ।

आयोजनाबाट उत्पादित विद्युत्‌ कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | १७:४२:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया