सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ जलविद्युत आयोजना निर्माणमा प्रगति, समयमै सम्पन्न गराउने लक्ष्य

जलसरोकार
शुक्रबार, साउन १६, २०८२ | ०८:५६:४७ बजे

तनहुँ : नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र दातृ निकायहरू एडीबी, ईआईबी र जेआईसीएको संयुक्त लगानीमा निर्माण भइरहेको १४० मेगावाट क्षमताको तनहुँ जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य विभिन्न प्याकेजमार्फत अघि बढिरहेको छ।

प्याकेज १ अन्तर्गत सोङ्दा-कालिका जे.भी.ले १४० मिटर अग्लो बाँध निर्माण गरिरहेको छ। २०७७ साल चैत्र ८ गते (२२ मार्च २०२१) बाट निर्माण कार्य सुरु भए पनि कंक्रीटिङ् कार्य २०७८ चैत ६ गते (२० मार्च २०२५) मात्र शुरू भएको छ। बाँध निर्माणका लागि करिब ९ लाख घनमिटर कंक्रीट आवश्यक पर्नेमा हालसम्म करिब ६० हजार घनमिटर मात्र कंक्रीटिङ सम्पन्न भएको छ। प्याकेज २ सँगको अन्तरसम्बन्ध (Interfacing) का कारण थप समय लाग्ने सम्भावना देखिएको तनहुँ हाइड्रोका सीइओ छवि गैरेले जनाएका छन्।

प्याकेज २ अन्तर्गत सिनोहाइड्रो कर्पोरेशन, चीनले वाटरवे, पावरहाउस र सम्बन्धित उपकरणहरूको निर्माण कार्य २०७५।०६।१५ गतेदेखि शुरु गरेको छ। सिभिल निर्माण कार्य प्रायः पूरा भइसकेको छ भने इलेक्ट्रोमेकानिकल जडान कार्य जारी छ। तर हाइड्रोमेकानिकल काम १५ प्रतिशतभन्दा कम प्रगति भएको छ र यसले प्याकेज १ सँगको अन्तरसम्बन्धमा असर पार्ने उनको भनाइ छ।

प्याकेज ३ अन्तर्गत ३३ किलोमिटर लामो २२० के.भी. प्रसारण लाइन निर्माणका लागि भारतको केईसी इन्टरनेशनल लिमिटेडसँग २०७५।०९।१० मा सम्झौता भएको थियो। ९४ वटा टावर मध्ये ७८ टावरको जग तयार भइसकेको छ भने ६९ टावर जडान गरिएको छ। तर बाँकी वन क्षेत्रमा पर्ने टावरहरूको निर्माण वन विभागसँग आवश्यक सम्झौता नभएको कारण रोकिएको उनले बताए।

आयोजनाको लागि अमेरिकी डलर ५०५ मिलियनको लागत अनुमान छ। उनका अनुसार हाल थप ९२.३८ मिलियन डलर वित्तीय स्रोतको व्यवस्था आवश्यक भएकोले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अर्थ मन्त्रालयमा अनुरोध गरेको छ।

वन क्षेत्रको जग्गा उपयोग र रुख कटानका लागि २०७४ सालमा मन्त्रिपरिषदबाट स्वीकृति भए पनि नयाँ वन ऐन २०७६ र नियमावली २०७९ अनुसार  वृक्षरोपण र जग्गाको भुक्तानीको लागि आवश्यक ५ अर्ब ८५ करोड रकमको स्रोत सुनिश्चितता हुन नसकेकोले प्रशारण लाइनको निर्माणमा समस्या आएको गैरेले बताए।

मन्त्रालयले समस्याहरू समाधान गर्न वार्ता र छलफलको माध्यमबाट अघि बढ्ने विश्वास व्यक्त गरेको छ। स्थानीयहरू, दातृ निकायहरू, सरकारी निकायहरू, राजनीतिक दल, नागरिक समाज, पत्रकार र निर्माण व्यवसायीहरूको सहयोगमा यो आयोजनालाई समयमा सम्पन्न गर्ने उद्देश्य रहेको बताइएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन १६, २०८२ | ०८:५६:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया