तनहुँ जलविद्युत् आयोजनामा प्रगति बढ्दै, प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
जलसरोकार
दमौली (तनहुँ) : राष्ट्रिय गौरवको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणलाई तीव्रता दिँदै चितवन जिल्लामा पर्ने वन क्षेत्रका रुखहरूमा छपान (मार्किङ) कार्य सुरु गरिएको छ। आयोजनाको प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारीस्वरूप उक्त काम अघि बढाइएको हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गधिकारभित्र पर्ने चितवनस्थित राष्ट्रिय वन क्षेत्रका रुखहरूमा छपान सुरु भइसकेको छ। टावर निर्माण तथा मार्गधिकार व्यवस्थापनका लागि तनहुँ र चितवनका वन क्षेत्रमा पर्ने जग्गा तथा वनस्पति हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भइसकेको छ।
प्रसारण लाइन निर्माणका लागि दुवै जिल्लामा गरी ९२.७ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृति प्राप्त भएको छ। यससँगै नौ हजार १२७ वटा रुख हटाउन अनुमति पाएपछि निर्माण कार्य थप सहज बनेको आयोजना कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता सम्पन्न भएको हो।
निर्माणतर्फ, भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले ३३ किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटाको जग हाल्ने र ६९ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ। यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत पुगेको छ।
आयोजनाका अन्य प्याकेजहरूमा पनि उल्लेखनीय प्रगति देखिएको छ। प्याकेज–१ अन्तर्गत बाँध तथा संरचना निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ, जसको प्रगति ५४ प्रतिशत पुगेको छ। मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, अस्थायी बाँध तथा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।
सेती नदीलाई विसं २०८० कात्तिक २० गते सफलतापूर्वक पथान्तरण गरिसकिएको छ भने २०८१ जेठमा बाँध क्षेत्रका अस्थायी संरचना निर्माण पनि सम्पन्न गरिएको छ।
त्यसैगरी, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा उपकरण जडान कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजमा ७३ प्रतिशत प्रगति भएको छ। भूमिगत संरचना निर्माण, कङ्क्रिटिङ कार्यलगायत अधिकांश सिभिल काम सम्पन्न भइसकेका छन् भने इलेक्ट्रोमेकानिकल जडान कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
आयोजना प्रमुख भण्डारीका अनुसार विद्युत्गृहको सिभिल संरचना लगभग सम्पन्न भइसकेको छ र छाना जडान, पानी निकासजस्ता अन्तिम चरणका काम जारी छन्।
समग्रमा, बहुप्याकेजमा समानान्तर रूपमा अघि बढिरहेको तनहुँ जलविद्युत् आयोजना निर्धारित समयसीमा नजिकिँदै गर्दा यसको निर्माणले गति लिएको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
-
सान्भी इनर्जी घाटामा, उत्पादन ठप्प हुँदा आम्दानी घट्यो
-
संखुवासभाको इन्दुवाखोला जलविद्युतमा करिब ६ अर्ब रुपैयाँको लगानी सम्झौता
-
ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्दै विराजभक्त श्रेष्ठ
-
सुन र चाँदीको मूल्य घट्ने क्रम जारी : आज सुन ४ हजार ६०० ले घट्दा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार
-
तनहुँ जलविद्युत् आयोजनामा प्रगति बढ्दै, प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु