बर्खासँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन बढ्याे
जलसरोकार
लमजुङ : जलविद्युत् आयोजनाको ‘हब’का रूपमा परिचित लमजुङमा बर्खा सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। हिउँदमा पानीको अभावका कारण न्यून उत्पादन गरिरहेका अधिकांश आयोजनाले यतिबेला पूर्ण वा पूर्ण नजिकको क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन्।
जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब दुई सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। बेँसीसहर नगरपालिका–१ दलालस्थित आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार मस्र्याङ्दी नदीमा पानीको बहाव पर्याप्त भएपछि आयोजनाले ७० मेगावाट क्षमतामा उत्पादन गरिरहेको हो। हिउँदयाममा पानी अभावका कारण आयोजनाबाट २६–२७ मेगावाट मात्र उत्पादन हुँदै आएको थियो।
दुईवटा ३५–३५ मेगावाट क्षमताका टर्बाइनमार्फत सञ्चालन भइरहेको उक्त आयोजना सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएको थियो। आयोजना निर्माणमा करिब २७ अर्ब २० करोड रुपैयाँ खर्च भएको थियो।
यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले पनि केही दिनयता पूर्ण क्षमतामा उत्पादन गरिरहेको जनाएको छ। सन् २०१३ मा निर्माण सुरु भई सन् २०१७ देखि व्यावसायिक उत्पादन थालेको उक्त आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाली लगानीकर्ता समूहको १० प्रतिशत लगानी रहेको छ।
जिल्लाका अन्य जलविद्युत् आयोजनाहरूमा पनि उत्पादन वृद्धि भएको छ। ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला र ४.४ मेगावाटको राँधीखोला आयोजनाले उत्पादन बढाएका छन्।
त्यसैगरी, चार–चार मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, २.४ मेगावाटको अपर स्याँगेखोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रोहाइड्रो तथा ८० किलोवाटको मिदिम माइक्रोहाइड्रो आयोजनामा पनि उत्पादन वृद्धि भएको जनाइएको छ।
लमजुङमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर देशभर आपूर्ति हुँदै आएको छ। जलविद्युत् उत्पादनमा हुने वृद्धि वा कमीले राष्ट्रिय ऊर्जा आपूर्ति र आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने भएकाले बर्खायाममा उत्पादन बढ्नु सकारात्मक मानिएको छ।
मस्र्याङ्दी, दोर्दी, किसेदी, फिदिमलगायत नदी तथा खोलामा वर्षायाममा पानीको बहाव बढ्ने र हिउँदयाममा घट्ने भएकाले लमजुङका अधिकांश ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको उत्पादन पनि मौसमअनुसार उतारचढाव हुने गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य